नयाँ शक्ति नेपालको राष्ट्रिय भेला सम्पन्न

  • 14 जुन 2016
तस्वीर कपीराइट .

हाल भइरहेका अधिकारका सबै आन्दोलनप्रति ऐक्यवद्धता जनाउने निर्णय गरेको नयाँ शक्ति नेपाल पार्टीले संविधानप्रति देखिएका असन्तुष्टीहरुलाई पहिलो संविधानसभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिको प्रतिवेदनलाई आधार मानिनु पर्ने जनाएको छ।

भेलामा प्रस्तुत गरिएका पार्टीका दस्तावेजमा आएका सुझावहरुलाई समेटर अन्तिम रुप दिन १५ सदस्यीय समितिको निर्माण गरिएको बताइएको छ।

दशरथ रंगशालामा ३० गते खुलासभाको आयोजना गरेर घोषणा गरिएको उक्त पार्टीको राष्ट्रिय भेला २ दिन सम्म छलफल गरेर आज सकिएको हो।

देशका विभिन्न भागबाट र प्रवासबाट आएका प्रतिनिधि सहभागी भएको भेलाले ८ बुँदे समसामयिक प्रस्ताव पारित गरेको बताइएको छ।

प्रस्ताव

संविधानप्रति देखिएका असन्तुष्टी, भूकम्प पिडितका समस्या, द्वन्द्वकालीन घटनाको छानविन लगायतका विषयमा प्रस्ताव केन्द्रित रहेको छ।

समापन समारोहमा पारित प्रस्ताव घोषणा गर्दै पार्टी प्रवक्ता खिमलाल देवकोटाले भने, "तराई लगायत जनजातीहरुमा वर्तमान संविधानप्रति रहेका असन्तुष्टीहरुलाई वार्ताकै माध्य द्रारा समाधान गरिनु पर्छ र त्यसका लागि पहिलो संविधानसभाको राज्य पुनसंरचना तथा राज्यशक्ति बाँडफाँड समितिको प्रतिवेदनलाई आधार मानेर संविधान संशोधन गरिनु पर्दछ।"

एक वर्ष भित्र महाधिवेशन गर्ने विधानमा सहमति जनाएको भेलाले पार्टीको राजनीतिक र आर्थिक विकासको दस्तावेजमा छलफलमा गरेर आएका संशोधनलाई अन्तिम रुप दिन पार्टी संयोजक बाबुराम भट्टराईसहितको १५ सदस्यीय समितिलाई जिम्मा दिएको छ।

भेला समापन समारोहमा बोल्दै संयोजक भट्टराईले भने, "हामी धेरै ठूला ठूला विचार र वादमा झन्झटमा फस्नु आवश्यक छैन हिजोका विचार र वादबाट माथि उठेर महाधिवेशनसम्म २१औं शताब्दी अनुकूलको नयाँ वाद र विचारको निर्माण गर्ने छौं।"

संयोजक भट्टराईले संबोधनका क्रममा नयाँ शक्तिको नाम लिनु पर्ने ठाँउमा आफ्नै पुरानो पार्टी माओवादीको नाम लिए पछि हलमा एकछिन हाँसो गुन्जिएको थियो।

विवरण

समापनको अवसरमा पार्टीको घोषणादेखि भेलासम्ममा भएको खर्चको विवरण प्रस्तुत गरियो।

कूल १ करोड ६१ लाख रुपैयाँ आम्दानी भएको बताइए पनि त्यस मध्य १ करोड रुपैयाँ भन्दा बढी उठन बाँकी रहेको उल्लेख गरिएको छ।

पार्टीको प्रचारप्रसारमा करोडौं रुपैयाँ खर्च भएको हुन सक्ने टिप्पणीहरु भैरहदा प्रचारप्रसारका लागि ३६ लाख रुपैयाँ मात्र खर्च भएको बताइएको छ।

कूल ३ दिनको खर्च १ करोड ४ लाख भएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ।