‘हमलाकारीद्वारा आइएसको निर्देशन पालना’

  • 14 जुन 2016
तस्वीर कपीराइट AFP

प्रहरीको गोली प्रहारबाट मारिएका हमलाकारी लारोसी अबाला इस्लामिक स्टेटका नेता अबु बक्र अल बग्दादीप्रति वफादार रहेको बताइएको छ।

फ्रान्सको प्रहरीका अनुसार लारोसी अबालाले स्थानीय समय अनुसार सोमबार बेलुकीको साढे आठ बजे हमला गर्नु अघि ती प्रहरी दम्पतिको घर अगाडी ढुकेर बसेका थिए।

ती २५ बर्षे हमलाकारीलाई प्रहरीले मध्यराततिर गोली हानी मारिदिएका थिए।

त्यसको केही घण्टाअघि ती हमलाकारीले इस्लामिक स्टेटप्रति वफादारी प्रकट गर्दै फेसबुकमा १३ मिनेट लामो भिडियो पोस्ट गरेका थिए।

सो भिडियोमा उनले युरो २०१६ फुटबल प्रतियोगिताका सम्बन्धमा पनि धम्कीपूर्ण टिप्पणीहरु गरेका थिए।

फेसबुक

मंगलबार विहान अबालासंग सम्बन्धित दुईवटा फेसबुक अकाउन्टहरु बन्द गरिएका छन्।

ती हमलाकारीले जिहादीहरुसंग सम्बन्ध भएको अभियोगमा जेल सजायँ पनि काटिसकेका थिए र उनका साथमा सार्वजनिक व्यक्तित्वहरु सहित निशाना बनाइने मानिसहरुको सूची रहेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार ती व्यक्तिसंग सम्बन्ध भएका अन्य तीनजनालाई पक्राउ गरी हिरासतमा राखिएको छ।

फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलांडले उक्त घटनालाई आतंकवादी क्रियाकलाप भनेका छन्।

फ्रान्सले अझै पनि उल्लेखनीय खतराको सामना गरिरहेको राष्ट्रपतिको भनाई थियो।

सन् २०१५ को नोभेम्बर १३ तारिखमा १३० जना मारिने गरी प्यारिसमा भएको हमला यता प्यारिसमा आपतकालिन अवस्था कायमै रहेको छ।

गत शुक्रबारदेखि आरम्भ भएको युरो फुटबल च्याम्पीयनशीपको आयोजकका रुपमा त्यहां उच्च सुरक्षा व्यवस्था लागू गरिएको छ।