चुनाव गर्ने काम धेरै चुनौतिपूर्ण: आयोग

  • 15 जुन 2016
प्रधानमन्त्री ओली तस्वीर कपीराइट bbc
Image caption प्रधानमन्त्री ओलीले उनको सरकारले डेढ वर्षमा तीन तहकै चुनाव सम्पन्न गर्ने र सरकारको आयु नलम्बिने बताएका छन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले नयाँ संविधान सबै दललाई स्वीकार्य नभएसम्म चुनाव गर्न निकै कठिन हुने बीबीसीलाई बताएका छन्।

बुधबार काठमाण्डूमा एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी ओलीले आगामी डेढ वर्षभित्र देशमा तीनवटै तहका चुनाव गर्न सरकार लागि परेको बताएका थिए।

बुधबार लोकसेवा आयोगको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्रीले आगामी डेढ वर्षभित्रै तीन तहकै चुनाव सम्पन्न गर्ने आफ्नो महत्वाकांक्षी योजना सुनाए।

“म भन्न चाहन्छु लगभग डेढ वर्षको समयभित्र हामी स्थानीय निकायको निर्वाचन, प्रादेशिक निर्वाचन र प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन लगभग सिध्याउछौं।“

प्रधानमन्त्री ओलीले आफू सरकारको आयु बढाउने पक्षमा नभएको बताउदै आफू चुनाव गराउने पक्षमा रहेको बताए।

योजना

आगामी मंसीरमा स्थानीय निकायको निर्वाचन गर्ने सरकारको योजना उनले दोहो-याए।

तर कायममुकायम प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले संविधानप्रति असन्तुष्टि जनाउँदै भइरहेका आन्दोलनपछि देशमा उत्पन्न प्रतिकूल परिस्थिति शान्तिपूर्ण चुनाव गराउनको लागि वाधक हुने चिन्ता प्रकट गरे।

“आन्दोलनरत मधेसी दलहरुको एक मुख छैन। उनीहरुले संविधानलाई पूर्ण रुपले अपनाउन सकिरहेका छैनन्। राजनीतिक चुनौती नै अहिले सबैभन्दा ठूलो चुनौती हो।”

विगत १४ वर्षदेखि देशमा स्थानीय निकायको चुनाव हुन नसक्दा गाउँ र नगरहरु प्रशासक र दलीय भागवण्डाका आधारमा घस्रन वाध्य छन्।

मंसीरमा स्थानीय चुनाव गराउने सरकारको योजनालाई सत्तारुढ माओवादी केन्द्र र प्रमुख विपक्षी नेपाली कांग्रेसले पनि समर्थन गरेका छैनन्।

उनीहरु गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण गर्न गठित आयोगको प्रतिवेदनलाई आधार मानेर स्थानीय चुनाव गर्नुपर्ने बताउँछन्।

प्रादेशिक चुनावको कुरा उठ्दै गर्दा, प्रदेशको संख्या र सीमाका विषयमा खासगरी आन्दोलनरत दलहरुले गम्भीर आपत्ती जनाइरहेका छन्।

असहज

त्यसको निदान नभएसम्म प्रान्तहरुको चुनाव सहज रुपमा सम्भव नहुने स्पष्ट छ।

तर प्रधानमन्त्रीले सबै पक्षको चासोलाई सम्वोधन गर्न सके चुनाव गराउन निकै सहज हुने कार्यवहाक प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको भनाइ छ।

“प्रधानमन्त्रीले सबैलाई मिलाएर लैजान सक्नु भयो भने राम्रोसँग गर्न सकिन्छ।”

निर्वाचन आयोगका अनुसार स्थानीय, प्रादेशिक र संसदीय चुनाव गर्नको लागि कानुनी अड्चनहरु पनि फुकाउन जरुरी छ।

साथै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नेदेखि लिएर मतदाता परिचयपत्र वितरण गर्ने जस्ता पूर्व तयारीहरु गर्न आवश्यक छ।