एउटा नरभक्षी सिंहको खोजी

  • 15 जुन 2016
तस्वीर कपीराइट prashant.dayal

भारतीय अधिकारीहरुले एउटा नरभक्षी संदिग्ध सिंहको खोजीको क्रममा १८ वटा सिंहलाई नियन्त्रणमा लिएका छन्।

उक्त संदिग्ध सिंहको आक्रमणबाट तीनजना मानिसको ज्यान गएको थियो।

गुजरात राज्यका वन कर्मचारीहरुले नरभक्षी सिंहको पहिचानका निम्ति नियन्त्रणमा लिइएका सिंहहरुको पद चिन्ह र मलमूत्रको जाँच गरिने बताएका छन्।

अधिकारीहरुले बीबीसी हिन्दीलाई बताएअनुसार पहिचानपछि ‘दोषी’ सिंहलाई आजीवन एउटा चिडियाखानामा राखिनेछ भने नियतन्त्रणमा लिइएका बाँकी सिंहहरुलाई गिर वन क्षेत्रमा छाडिनेछ।

पहिचान

हालै उक्त वन क्षेत्र नजिकै सिंहले मान्छेहरुमाथि आक्रमण गरेको ६ वटा घटना भएका थिए।

गुजरातका एकजना उच्च वन अधिकारी जेए खानले ती सिंहहरुलाई पछिल्ला दुई महिनामा नियन्त्रणमा लिइएको र नरभक्षीको पहिचान गर्ने क्रममा अहिले छुट्टा-छुट्टै पिजडामा राखिएको बताए।

उनले भने, “हामीलाई लाग्छ हामीले दोषी सिंह पत्ता लगाइसकेका छौँ तर थप ९ वटा सिंहबारेको जाँच नतिजालाई अहिले कुरिरहेका छौँ।”

वन्यजन्तु विज्ञ रुचि दावेले सिंहको मलमूत्र लगायतको जाँच भइरहेको बीबीसीलाई बताइन्।

तस्वीर कपीराइट prashant.dayal

उनले थपिन्, “अधिकारीहरुले ती जनावरहरुको व्यवहारबारे पनि अध्ययन गरिरहेका छन्, नरभक्षी सिंहहरु खासगरी मान्छेलाई देख्नासाथ उग्र हुने गर्दछन्।”

आजीवन

अर्का वन्यजन्तु विज्ञ रेवतुभा रइजादाले नरभक्षी सिंहलाई त्यतिकै छाड्नु सुरक्षित नभएकोले आजीवन पिजडामा राखिने बताए।

केही विज्ञहरु गिर जंगल क्षेत्रमा सिंहहरुको बढ्दो जनसंख्याका कारण उनीहरुले त्यस्तो ‘अस्वभाविक’ व्यवहार देखाउने गरेको बताउँछन्।

गुजरात वन क्षेत्रका पूर्व वार्डेन गोविन्द पटेलले गिर क्षेत्रमा २७० वटा सिंह मात्र रहन सक्ने द इण्डियन एक्प्रेस पत्रिकालाई बताएका छन्।

भारतको सर्वोच्च अदालतले सिंहबाट हुने संभावित रोग लाग्न नदिन र मानिसहरुमाथि आउन सक्ने विपत्तिबाट जोगाउन गुजरात राज्यले केही सिंहहरुलाई अरु राज्यमा स्थानान्तरण गर्नुपर्ने आदेश दिइसकेको छ।

यद्यपि गुजरात राज्यले त्यसप्रति आनाकानी गर्दै आएको र अदालतको आदेशको पालना गर्ने दिशामा खासै केही नगरेको बताइन्छ।