नक्कली प्रमाणपत्र प्रकरण , कैयौं डाक्टर पक्राउ

  • 17 जुन 2016
बिरामीहरु
Image caption अयोग्य चिकित्सकहरुका कारण बिरामीहरुको ज्यानैसमेत जोखिममा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ

नक्कली प्रमाणपत्रधारी डाक्टर विरुद्धको अभियान अझै जारी रहेकोले नक्कली प्रमाणपत्रधारीहरु थप डाक्टरहरु समातिन सक्ने प्रहरी अधिकारीहरुले बताएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार वीरगन्जबाट ९ जना चिकित्सकलाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेहरुमा नारायणी अस्पतालमा कार्यरत ४ जना, नेशनल मेडिकल कलेजमा कार्यरत ४ जना र वीरगञ्जमा एक क्लिनिक सञ्चालन गरिरहेका अर्का एक डाक्टर रहेका छन्।

पक्राउ परेका सबैलाई सिआईबीको टोलीले काठमाण्डौ लगेको छ।

चिकित्सा शास्त्र अन्तर्गत (एमबीबीएस) पढ्दा नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा सिआईबीले चिकित्सकलाई पक्राउ गरेको हुन सक्ने ठानिएको छ।

अनुसन्धान जारी

चिकित्सकहरु पक्राउ गर्नुको कारणबारे जिज्ञासा राख्न नेपाल प्रहरीका प्रवक्ता डीआइजी माधव जोशीले भने," प्रमाणपत्र नक्कली भएको भन्ने सम्वन्धमा छानबिन भइरहेको हो। कहाँबाट कति जना पक्राउ पर्यो भन्ने कुरा अहिले नै भन्न सक्ने अवस्था छैन। तर हाम्रो सीआइबीले चाहिं अपरेशन जारी राखेको छ। धेरै ठाँउमा अहिले पनि अपरेशन चलिरहेको अवस्था छ।"

डाक्टरहरु पक्राउको विरोधमा नेशनल मेडिकल कलेज र नारायणी अस्पतालका डाक्टर र कर्मचारीहरुले विरोध प्रर्दशन गरेका थिए।

उनीहरुले अस्पतालमा काम गरिरहेका चिकित्सकलाई अप्रेशन थियटर तथा आकस्मिक कक्षबाट पक्राउ गरेर अस्पतालको संवेदनशीलतालाई प्रहरीले बेवास्ता गरेको आरोप लगाएका छन्।

नेपाल चिकित्सक संघ पर्साका निवर्तमान अध्यक्ष डा रबिन्द्र सिंहले भने, "अपरेशन गर्दा गर्दैको अवस्थाबाट तानेर लगेको छ। र किन लग्यो भन्ने कुराको प्रष्ट जानकारी छैन। काठमान्डूबाट आएर प्रहरीले गुण्डा शैलीमा ब्यवहार गरेको छ। "

विरोध

डाक्टर पक्राउको विरोधमा वीरगञ्जका अस्पताल, क्लिनिक र नर्सिङ होमका डाक्टरहरु काम ठप्प पारेर हड्तालमा उत्रिएका थिए।

केही समय अघि स्वास्थ्य सेवामा नक्कली डाक्टरहरु रहेको भन्दै नेपाल मेडिकल काउन्सिलले नेपालभरिका सबै चिकित्सकहरुको प्रमाणपत्रको छानबिन कार्य अघि बढाएको थियो।

नक्कली चिकित्सक पत्ता लगाउन 'अपरेशन क्वाक' नामको छानबिन पक्रिया सुरु भएको र त्यसमा परीक्षा नियन्त्रण कार्यालय, उच्च माध्यामिक शिक्षा परिषद र प्रहरीको संयुक्त टोलीले काम गरिरहेको नेपाल मेडिकल काउन्सिलले बताएको थियो।