'सरकारी सेनाद्वारा फलुजा कब्जा'

  • 17 जुन 2016
तस्वीर कपीराइट Reuters

इराकी सेनाले फलुजा नगरका मुख्य सरकारी भवनहरु चरमपन्थी लडाकु समूह इस्लामिक स्टेटबाट फिर्ता लिएको बताएको छ।

राजधानी बग्दादबाट ५० किलोमिटर पश्चिममा रहेको उक्त नगर आईएसले सबैभन्दा लामो समय नियन्त्रणमा राखेको शहर हो।

इस्लामिक स्टेटले सन् २०१४ को जनवरी महिनामा फलुजा नगरमा कब्जा गरेको हो।

उक्त नगर र वरिपरिका क्षेत्रलाई महिनौं घेराबन्दीमा राखेपछि सरकारी सेनाले करीब ४ हप्ता अगाडि फलुजा नियन्त्रणमा लिने सैनिक अभियान थालेको थियो।

झण्डा

सरकारी टेलिभिजनले उद्धृत गरेको सेनाको एउटा वक्तव्य अनुसार शुक्रबार संघीय प्रहरीले नगर परिषदको भवनमाथि इराकको राष्ट्रिय झण्डा फहराएका छन्।

संघीय प्रहरीका प्रमुख राएद शाकेर जवदात ले भने, "सैनिकहरु अघि बढ्दै गर्दा लडाकुका तर्फबाट थोरै मात्रै प्रतिकार भएको थियो।"

प्रहरीहरु लडाकुहरुलाई पछ्याईरहेका छन्, र लडाकुहरु पश्चिममा फेरि संगठित हुन लागेको विश्वास गरिएको छ।

खाना र स्वच्छ पानी विना फलुजामा फसेका र खराब स्थितिमा रहेका ५० हजार सर्वसाधारणका बारेमा तत्कालै कुनै जानकारी प्राप्त भएको छैन।

हमला

सरकारी फौजको आक्रमण र अमेरिकी नेतृत्वको गठबन्धनको हवाइ हमला रोक्नका लागि आईएसले फलुजाका नागरिकलाई मानव ढालका रुपमा प्रयोग गर्ने गरेका खबर प्राप्त भएको थिए।

उक्त नगरबाट भाग्ने क्रममा लडाकुहरुले धेरै सर्वसाधारणलाई मारेका पनि थिए।

सोमबार आमाले बोकिराखेका एकजना २ वर्षे बालक पनि त्यसैगरी मारिएका थिए।

संयुक्त राष्ट्रसंघले गत मे महिनाको अन्त्यमा सरकारी आक्रमण शुरु भएपछि करीब ४२ हजार मानिस फलुजाबाट भागेका जनाएको छ।

मेद्साँ साँ फ्रोँत्या र नर्वेजियन आप्रवासी परिषदले उक्त संख्या ३० हजारको हाराहारीमा भएको बताएका छन्।