कार्यतालिकामा सहमति आवश्यक: प्रचण्ड

  • 18 जुन 2016
तस्वीर कपीराइट bbc

सत्तारुढ माओवादी केन्द्रका अध्यक्षले सरकारले घोषणा गरेको निर्वाचन कार्यतालिका व्यापक सहमति नगरिकनै ल्याइएको भन्दै त्यसमा परिवर्तन आवश्यक भएको बताएका छन्।

खासगरी विपक्षी नेपाली कांग्रेस र आन्दोलनरत तराई केन्द्रित दलहरुलाई विश्वासमा नलिइकन निर्वाचन सम्भव नभएको उनले बताए।

असन्तुष्टी

सरकारले केही दिन अघि डेढ वर्षभित्र स्थानिय निकाय, प्रदेश र संसदीय गरि तीनै तहको निर्वाचन गर्ने कार्यतालिका सहित संविधान कार्यान्वयनको कार्ययोजना व्यापक छलफल नै नगरि ल्याएको भन्दै प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन्।

पार्टीले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन शनिबार विराटनगर आइपुगेका प्रचण्डले विमाननस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै राष्ट्रिय समझदारी गरेर निर्वाचन कार्यतालिका परिवर्तन गर्नुपर्ने सुझाव दिए।

“निर्वाचन गर्नुपर्छ भन्ने सामान्य कुरामा कसैको विमति छैन। तर कार्यतालिकाको बारेमा भने सरसल्लाह भएर ठोस निष्कर्श निक्लिसकेको छैन। राष्ट्रिय समझदारी भएपछि उक्त कार्यतालिका परिवर्तन हुन्छ,” उनले भने।

‘पुनर्लेखन असम्भव’

सरकारले गरेको निर्वाचनको तयारी सकारात्मक भएपनि प्रमुख विपक्षी दल नेपाली कांग्रेस र तराई केन्द्रित दलहरुको सहमति विना निर्वाचन सम्भव नहुने प्रचण्डले बताएका छन्।

“निर्वाचनको निम्ति प्रमुख राजनीतिक शक्तिहरुको एकता आवश्यक छ। सरकारले आफु संविधान कार्यान्वयनमा प्रतिबद्ध छु भन्ने देखाउनाका लागि निर्वाचनका विषय बाहिर ल्याएपनि प्रमुख प्रतिपक्षी अनि मधेशका शक्तिहरुलाई सहमतिमा नल्याइकन निर्वाचनको वातावरण बन्दैन,” प्रचण्डले बताए।

उनले छिटोभन्दा छिटो तराई केन्द्रित दलहरुले उठाउँदै आएका माग सम्बोधन गर्न संविधान संशोधन गर्न सकिने बताए।

तर केही आन्दोलनरत दलले भनेजस्तो संविधानको पुनर्लेखन नै गर्न भने असम्भव रहेको उनले बताए।