ओलम्पिक्स आयोजक राज्य आर्थिक संकटमा

  • 18 जुन 2016
rio तस्वीर कपीराइट AFP
Image caption वित्तीय संकट जारी रहे रियो ओलम्पिक्स आयोजना गर्न नसक्ने अवस्थामा पुग्ने गभर्नरले बताएका छन्

ओलम्पिक्स खेल सुरु हुन ५० दिन पनि बांकी नरहंदा ब्रजिलको रियो ड जेनेरोका गभर्नरले वित्तीय आपतकाल घोषणा गरेका छन्।

फ्रान्सिस्को दोर्नेल्सले राज्यको आर्थिक अवस्था एकदमै संकटपूर्ण रहेको भन्दै खेल अगाडि विशेष कदमहरु चालिनुपर्ने बताए।

बाटो

बीबीसी संवाददाता जुलिया कारनेइरो भन्छिन् ,“घोषणाले सार्वजनिक सेवाहरुमा कटौती गर्न विशेष कदम चाल्न अधिकार दिनेछ ताकि ओलम्पिक्स गर्न सकियोस्। राज्य कोषको हालत थप बिग्रिएको छ र यसैसाता अन्तरिम राष्ट्रपति मिसेल टेमेयरले महत्वपूर्ण आर्थिक सहायताको वचन दिएका थिए”।

आफ्नो घोषणासँगै रियोका गभर्नरले आफ्नो राज्य टाट पाल्टिएको प्रष्ट पारेका छन्।

उनले सार्वजनिक गरेको दस्तावेजमा भयावह आर्थिक संकट रियोमा गहिरिएको र त्यसका कारण ओलम्पिक्ससम्बन्धी प्रतिवद्धता पूरा गर्न बाधा पुगिरहेको उल्लेख छ।

सुरक्षा, स्वास्थ्य र शिक्षा जस्ता सार्वजनिक सेवा पूर्ण रुपमा तहसनहस हुनसक्ने औल्याउँदै उक्त आदेशमा ओलम्पिक्स सम्भव तुल्याउन सार्वजनिक सेवामा कटौती गर्न विशेष कदमहरु चाल्न भनिएको छ।

ओलम्पिक्सको अधिकांश खर्च रियोको स्थानीय निकायले गरिरहेको छ तर रेल, शुद्ध पानीको सुनिश्चितता र प्रहरी बल व्यवस्थापनको जिम्मा राज्य सरकारले लिएको छ।

आक्रोश

एथ्लेटिक्सको अन्तर्राष्ट्रिय निकाय आइएएएफले प्रतिवन्धित औषधि प्रयोगको आरोपमा आफ्ना देशका खेलाडीहरुमाथि जारी प्रतिवन्ध कायमै राखेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रोश व्यक्त गरेका छन्।

उक्त निर्णय निष्पक्ष नभएको भन्दै उनले त्यसविरुद्ध अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र प्रतिवन्धित औषधि प्रयोग विरुद्धको विश्व निकायसँग छलफल गर्ने बताएका छन्।

आइएएएफको पछिल्लो निर्णयको अर्थ हो, रुसी खेलाडीहरुले आसन्न रियो ओलम्पिक्समा पनि भाग लिन पाउनेछैनन्।

तर प्रतिवन्धित औषधीसम्बन्धी कडा जांचहरु पार गर्न सके रुसी खेलाडीहरुलाई व्यक्तिगत रुपमा प्रतियोगितामा सामेल हुन पाउने बाटो भने आइएएएफले खोलेको छ।