नाम सार्वजनिक गरिएकोप्रति आपत्ति

  • 20 जुन 2016

नक्कली शैक्षिक प्रमाणपत्रको भरमा चिकित्सक भएको आरोपमा गिरफ्तार गरिएकाविरुद्धको अनुसन्धान किनारा लाग्नुअघिनै प्रहरीले नाम सार्वजनिक गरेपछि नेपाल चिकित्सक संघले आक्रोश व्यक्त गरेको छ।

दोषी प्रमाणित हुनुअघिनै अपराधीसरह व्यवहार गरिएको र त्यसले सम्पूर्ण चिकित्सा पेशाप्रति नै विश्वास घटाउने भन्दै संघले सोमबार गृहमन्त्रीको ध्यानाकर्षण गराउने बताएको छ।

प्रहरीले चाहिँ उक्त दाबी अस्वीकार गरेको छ।

गिरफ्तार गरिएको शैलीप्रति असन्तुष्टि जनाएको संघ प्रहरीले आइतबार विज्ञप्तिमार्फत ‘नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा डाक्टर भएकाहरु पक्राउ’ भन्दै ३६ जना चिकित्सकहरुको नाम सार्वजनिक गरेपछि झन् आक्रोशित बनेको हो।

बदनाम

प्रहरीले नाम सार्वजनिक गरेर बदनाम गर्ने प्रयास गरेको आरोप संघले लगाएको छ।

संघका अध्यक्ष डा. अन्जनीकुमार झाले भने, “अदालतमा मुद्दा फैसला नहुञ्जेल अनुसन्धानकै क्रममा यस्तो हल्लाखल्ला कि उनीहरु डाँका नै हुन् भन्ने जुन प्रचार गरियो, यो शैलीको हाम्रो विरोध हो।”

प्रहरीले यसअघि पनि चिकित्सक पक्राउ गरेर र पछि निर्दोष भन्दै छोडेको तर त्यसबेलासम्म ती चिकित्सकको छवि बिग्रिएको संघको भनाइ छ।

प्रहरीको यस्तो कदमले सम्पूर्ण चिकित्सा पेशाप्रति नै आँच पुग्ने भन्दै आइतबार प्रहरी प्रमुख र मानव अधिकार आयोगका पदाधिकारीलाई भेटेका चिकित्सकहरुले पेशागत प्रतिष्ठा बचाइदिन भन्दै सोमबार गृहमन्त्रीको ध्यानाकर्षण गराउँदैछन्।

बचाउ

प्रहरीले भने आफ्नो कामको बचाउ गरेको छ।

कारबाही सञ्चालन गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक दिवेश लोहनी भन्छन्, “प्रक्रिया नै यही हो। मुद्दा चलाउन जाँदा त पक्रिनैपर्यो। पक्रेपछि को को मान्छेलाई पक्रियो भनेर बुझ्ने जनताको पनि हक हो नि। सबैकुराको ख्याल गरेर हामी अगाडि बढेका छौँ।”

प्रहरीले विगतमा आपराधिक घटनामा संलग्न भएको आरोपमा पक्राउ गर्ने सामान्य नागरिक वा कुनै पेशामा संलग्न व्यक्तिहरुलाई सञ्चारमाध्यममाझ सार्वजनिक गर्ने गरेको छ।

विकसित मुलुकमा मानहानीको मुद्दा समेत बन्न सक्ने त्यस्तो कामलाई नेपालमा भने सामान्य रुपमा लिने गरेको पाइन्छ।