भारतको वैदेशिक लगानी नियममा परिवर्तन

  • 20 जुन 2016
तस्वीर कपीराइट AP

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सैनिक र नागरिक उड्डयनका क्षेत्रमा पूर्ण वैदेशिक स्वामित्व सम्भव हुने गरी प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी नियममा व्यापक परिवर्तनको घोषणा गरेका छन्।

यो परिवर्तित नियमले औषधि उद्योग तथा खुद्रा विक्रेता माथिका प्रतिवन्धहरु खुकुलो पारेको छ र एप्पल र आइकिया जस्ता ठूला विश्वव्यापी कम्पनीहरुलाई देशभित्र आफ्ना पसल खोल्न बाटो बनाईदिएको छ।

भारतले विदेशी लगानीकर्तालाई आकर्षित गर्नको लागि विदेशी स्वामित्व सम्बन्धी नियममा व्यापक सुधारको घोषणा गरेको छ।

एयरलाइन्स र सुरक्षा उद्योगहरुमा अब शतप्रतिशत विदेशी स्वामित्व हुनसक्नेछ, यो भन्दा अघि ती उद्योगमा क्रमशः ४९ प्रतिशत र ७४ प्रतिशत विदेशी स्वामित्व हुन पाउने प्रावधान थियो।

खुला अर्थतन्त्र

विदेशी खुद्रा व्यापारीहरुले बिक्री गर्ने सामान मध्ये ३० प्रतिशत भारतीय स्रोतको सामान हुनुपर्ने नियम पनि खारेज गरिएको छ।

मुम्बइमा रहेका बीबीसी संवाददाता साइमोन एटकिनसनले भनेका छन्, भारत विदेशी लगानीलाई आकर्षित गर्न गम्भीर रहेको देखाउने यो अहिलेसम्मको ठूलो संकेत हो।

भारतलाई आफ्नो आगामी ठूलो बजारमा हेरिरहेका आईकिया र एप्पल जस्ता ब्र्याण्डहरुले भारतको उक्त कदमको स्वागत गर्ने उनले बताए।

औषधि र खाद्यान्न उत्पादन कम्पनीहरुका लागि पनि लगानी गर्ने नियमहरु खुकुलो भएका छन्।

रोजगारी श्रृजना

सरकारले आफ्नो घोषणाबारे निकालेको वक्तब्यमा रोजगारी र रोजगार श्रृजनालाई गति प्रदान गर्ने उद्देश्यले नयाँ नियमहरु ल्याइएको बताएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो पटक सन् २०१५ को नोभेम्बरमा महत्वपूर्ण सुधारहरुको घोषणा गरेका थिए।

प्रधानमन्त्री मोदीले यो सुधारिएको नियमले एसियाको तेस्रो ठूलो अर्थतन्त्र रहेको भारतलाई विश्वकै सबैभन्दा खुल्ला अर्थतन्त्र बनाउने बताएका छन्।

भारतले हालै वैदेशिक लगानी प्रवाहमा चीनलाई जितेको थियो।