‘काबुलमा मारिएका १४ मध्ये १२ जना नेपाली’

  • 20 जुन 2016
तालिबान
Image caption मुसलमानहरुको पवित्र रमजान महिनाको बेला अफगानी तालिबानले सोमबारको जस्तो घातक हमला गरेका थिएनन्।

अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम हमलामा मारिएका १४ जना मध्ये १२ जना मात्रै नेपाली भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सो आक्रमणमा परी घाइते भएका मध्ये सात जना नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सो आक्रमणलाई आतंकवादी हमला भन्दै नेपाल सरकारले त्यसको भर्त्सना गरेको छ।

मृतकको शव ल्याउन र घाइतेको अवस्था बुझ्न नेपाल सरकारले एक कूटनीतिज्ञलाई काबुल जान निर्देशन दिएको छ।

सोमबार बिहान सवेरै काबुलको जलालावाद रोडमा भएको आत्मघाती बम हमलामा परी १२ जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेले बीबीसीलाई बताए।

“यो ठूलो वारदात हो। रोजगारदाता कम्पनीले हामीलाई उपलब्ध गराएको जानकारी अनुसार १४ जना मध्ये दुई जना नेपाली नागरिक होइनन् कि भन्ने कुरा आएकोले १२ जना नेपालीको ज्यान गएको कुरा आएको छ,” पौडेलले भने।

भर्त्सना

पौडेलका अनुसार बम हमलामा परी घाइते भएका सात जना नेपालीको अवस्था स्थीर छ।

बम हमलामा परेका नेपालीहरुले एक ब्रिटिश कम्पनी, सेबर इन्टरन्याशनल मार्फत काबुलस्थित क्यानाडाली राजदूतावासमा सुरक्षा गार्डको रुपमा काम गर्ने गरेको मन्त्रालयले जनाएको छ।

काबुल हमलामा नेपाली मारिएको घटनाबारे उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले संसदलाई जानकारी गराएका थिए।

“उहाँहरु चढेको मिनिबसमा आत्मघाती बम हमलाकारीले आक्रमण गरेको बुझिन आएको छ,” थापाले भने।

सो हमलालाई नेपाल सरकारले भर्त्सना गरेको जानकारी संसदलाई दिदै थापाले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षाको लागि त्याहाँको सरकारको ध्यानाकर्षण गरिसकिएको बताए।

स्वीकृति

वैदेशिक रोजगारीको लागि औपचारिक रुपमा खुल्ला नगरिएको अफगानिस्तानमा अहिले ठ्याक्कै कति नेपालीले काम गरिरहेका छन् त्यसको यकीन तथ्याङ्क सरकारसँग छैन।

वैदेशिक रोगजार विभागकी निर्देशक रमा भट्टराईका अनुसार अफगानिस्तानमा हाल वैधानिक रुपमा ५ सय ५२ जना नेपालीले विभिन्न राष्ट्रसंघीय निकायमा मात्र काम गर्न स्वीकृति पाएका छन्।

काबुल हमलामा मारिएका नेपालीको शव नेपाल ल्याउन र घाइतेहरुको अवस्था बुझ्न अफगानिस्तान समेत हेर्ने जिम्मा पाएको पाकिस्तानस्थित नेपाली दूतावासका कार्यवहाक राजदूतलाई काबुल जान निर्देशन दिइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सोमबार बिहानै भएको आत्मघाती आक्रमणको तालिवानका एक जना प्रवक्ताले जिम्मेवारी दावी गरेका छन्।

यो हमलालाई मुसलमान धर्मावलम्वीहरुको पवित्र रमजान महिना सुरु भएयता अफगानिस्तानमा भएको यस्तो प्रकृतिको पहिलो आक्रमण भनिएको छ।