कंगोका भूतपूर्व उपराष्ट्रपतिलाई जेल सजाय

  • 21 जुन 2016
तस्वीर कपीराइट AFP

मानवता विरोधी अभियोगमा दोषी ठहर गरिएका अफ्रीकी मुलुक कंगोका भूतपूर्व उपराष्ट्रपति जं पीएर बेम्बालाई १८ बर्षको जेल सजाय सुनाइएको छ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले उनलाई सन् २००२ र २००३ मा मध्य अफ्रीकी गणतन्त्रमा गैरसैनिकहरुको हत्या र बलात्कार गर्नबाट आफ्ना सेनालाई नरोकेको भनी युद्ध अपराध लगायतका अभियोगमा दोषी ठहर गरेको थियो।

उनले पहिले नै जेलमा बिताइसकेका आठ वर्षको अवधिलाई सजाय भुक्तान गरेको रुपमा लिइने भएको छ।

उनका वकिलहरुले यो फैसलाका विरुद्ध पुनरावेदन गर्ने बताइसकेका छन्।

हत्या र बलात्कार

बेम्बालाई गत मार्च महिनामा सन् २००२ र २००३ मा छिमेकको मध्य अफ्रीकी गणतन्त्रमा ती अपराधहरु गरेको ‌अभियोगमा दोषी ठहर गरिएको थियो।

उनलाई आफू मातहतका सैन्यलाई हत्या र बलात्कार गर्नबाट नरोकेको अभियोगहरु लगाइएको थियो।

नेदरल्याण्डस् को द हेग स्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा फैसला सुनाउँदै न्यायाधिश सिल्भीया स्टाइनरले भनिन् “बेम्बाले मध्य अफ्रीकी गणतन्त्रमा पठाइएको आफ्नो निजी मिलीसियामाथि नियन्त्रण कायम नगरेको र त्यहाँ तिनीहरुले अरुलाई पीडा दिने कार्यहरु विशेष क्रुरताका साथ गरेको अभियोगमा उनलाई दोषी पाइएको हो।“

बेम्बाले सैनिक विद्रोहको प्रयासलाई दबाउनका लागि मध्य अफ्रीकी गणतन्त्रका भूतपूर्व राष्ट्रपति आंग्ज फेलिक्स पाटासेलाई सघाउन १,००० जना भन्दा बढी लडाकुहरु त्यसतर्फ पठाएका थिए।

हिंसा

अदालतमा प्रस्तुत बयानमा उनका सैन्यले त्यहाँका गैरसैनिकहरु विरुद्ध चरम प्रकृतिको हिंसा मच्चाएका थिए।

त्यस्ता अपराधका घटनाहरुका बारे बेम्बालाई जानकारी गराइएको भएतापनि उनले त्यस्लाई रोक्न केही कदम नचालेको बताइएको थियो।

बेम्बालाई दोषी ठहर गरिएको मुद्दामा अन्तर्राष्ट्रिय फौजदारी अदालतले, बलात्कारलाई युद्धमा हतियारका रुपमा प्रयोग गरिएको भनी उल्लेख गरेको पहिलो घटना हो।

साथै आफ्नो मातहतमा रहेका अरुहरुले गरेका अपराधका लागि पनि सन्दिग्ध जिम्मेवार नेतृत्वलाई दोषी ठहर गरिएको पनि यो पहिलो अवसर हो।

जं पीएर बेम्बाले प्रजातान्त्रिक गणतन्त्र कंगोको गृहयुद्धका बेला एमएलसी नामक समूहको नेतृत्व गरेका थिए।

सन् २००३ मा भएको शान्ति सम्झौता अन्तर्गत उनले हतियार विसर्जन गरी अन्तरिम सरकारमा उपराष्ट्रपतिका रुपमा सहभागी भएका थिए।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको फैसाल विरुद्ध पुनरावेदन गरीने घोषणा बेम्बका प्रतिरक्षा वकिलहरुको टोलीले पहिले नै गरिसकेको छ।