कंगोका पूर्व उपराष्ट्रपतिलाई १८ वर्ष जेल सजाय

  • 21 जुन 2016
तस्वीर कपीराइट AFP
Image caption उनका वकिलहरुले यो फैसलाविरुद्ध पुनरावेदन गर्ने बताइसकेका छन्

मानवता विरोधी अभियोगमा दोषी ठहर गरिएको, अफ्रीकी मूलकु कंगोका भूतपूर्व उपराष्ट्रपति जं पीएर बेम्बालाई अठार बर्षको जेल सजाय सुनाइएको छ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले उनलाई, सन् २००२ र २००३ मा मध्य अफ्रीकी गणतन्त्रमा गैरसैनिकहरुको हत्या र बलात्कार गर्नबाट आफ्ना सेनालाई नरोकेको भनी युद्ध अपराध लगायतका अभियोगमा दोषी ठहर गरेको थियो।

उनले पहिले नै जेलमा विताइसकेका आठ वर्षको अवधीलाई सजायं भुक्तान गरेको रुपमा लिइने भएको छ।

अभियोग

युद्ध अपराध र यौन हिंसाका अभियोगहरुमा दोषी ठहर भएपछि अन्तर्राष्ट्रिय फौजदारी अदालतले कंगोका भूतपूर्व विद्रोही नेता जं पीएर बेम्बालाई अठार बर्षको जेल सजायं सुनाएको हो।

उनलाई गत मार्च महिनामा सन् २००२ र २००३ मा छिमेकको मध्य अफ्रीकी गणतन्त्रमा ति अपराधहरु गरेको ‌अभियोगमा दोषी ठहर गरिएको थियो।

उनलाई आफू मातहतका सैन्यलाई हत्या र बलात्कार गर्नबाट नरोकेको अभियोगहरु लगाइएको थियो।

नेदरल्याण्डस् को द हेग स्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा फैसला सुनाउँदै न्यायाधिश सिल्भीया स्टाइनरले भनिन्, बेम्बाले मध्य अफ्रीकी गणतन्त्रमा पठाइएको आफ्नो निजी मिलीसियामाथि नियन्त्रण कायम नगरेको र त्यहाँ तिनीहरुले अरुलाई पीडा दिने कार्यहरु विशेष क्रुरताका साथ गरेका बताएकी छन्।

बेम्बाले, सैनिक विद्रोहको प्रयासलाई दबाउनका लागि मध्य अफ्रीकी गणतन्त्रका भूतपूर्व राष्ट्रपति आंग्ज फेलिक्स पाटासेलाई सघाउन एकहजारजना भन्दा बढी लडाकुहरु त्यसतर्फ पठाएका थिए।

अदालतमा प्रस्तुत बयानमा उनका सैन्यले त्यहाँका गैरसैनिकविरुद्ध चरम प्रकृतिको हिंसा मच्चाएका थिए।

त्यस्ता अपराधका घटनाहरुबारे बेम्बालाई जानकारी गराइएको भएतापनि उनले त्यसलाई रोक्न केहि कदम नचालएको बताइएको थियो।

जिम्मेवार

बेम्बालाई दोषी ठहर गरिएको मुद्दामा, अन्तर्राष्ट्रिय फौजदारी अदालतले, बलात्कारलाई युद्धमा हतियारका रुपमा प्रयोग गरिएको भनि उल्लेख गरिएको पहिलो घटना हो।

साथै आफ्नो मातहतमा रहेका अरुहरुले गरेका अपराधका लागि पनि संदिग्ध जिम्मेवार नेतृत्वलाई दोषी ठहर गरिएको पनि यो पहिलो अवसर हो।

जं पीएर बेम्बाले प्रजातान्त्रिक गणतन्त्र कंगोको गृहयुद्धका बेला एमएलसी नामक समूहको नेतृत्व गरेका थिए।

सन् २००३ मा भएको शान्ति सम्झौता अन्तर्गत उनले हतियार बिसर्जन गरी अन्तरिम सरकारमा उपराष्ट्रपतिका रुपमा सहभागी भएका थिए।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको फैसालविरुद्ध पुनरावेदन गरिने घोषणा बेम्बका प्रतिरक्षा वकिलहरुको टोलीले पहिले नै गरिसकेको छ।