ब्रिटेनमा जनमतसंग्रहअघि चटारो

  • 22 जुन 2016
तस्वीर कपीराइट PA

बिहीबार हुने जनमतसंग्रह अघि राजनीतिक दलका नेताहरु मतदाताहरुको समर्थन जुटाउने अन्तिम प्रयास गरिरहेका छन्।

प्रधानमन्त्री डेभिड क्यामरन, जेरेमी कर्बिन र टिम फरोनले बिहीबार हुने मतदानमा ब्रिटेनले युरोपेली संघ (इयु) भित्रै रहने पक्षमा मत हाल्दा उत्तम र सुरक्षित हुने भन्ने दावी सहित जुलुसलाई सम्बोधन गरिरहेका छन्।

बोरिस जोनसन र नाइजल फराजले भने आफ्ना समर्थकहरुलाई आफ्नै देशमाथि विश्वास गर्न आह्वान गरेका छन्।

ब्रिटेनमा ४ करोड ६० लाख भन्दा बढी मानिसहरु जनमत संग्रहमा मतदान गर्न योग्य छन्।

अनुमान गर्न गाह्रो

ब्रिटेनको युरोपसंगको सम्बन्धका बारेमा ४० वर्षयता हुन लागेको पहिलो मतदानमा ब्रिटेनका जनताहरुलाई ब्रिटेन इयु भित्रै रहनुपर्छ वा त्यसबाट बाहिरिनुपर्छ भन्ने विकल्पबीच एउटा छान्न भनिने छ।

तस्वीर कपीराइट .

बीबीसीकी राजनीतिक सम्पादक लउरा कुन्सबर्गका अनुसार यो अभियानको परिणाम अनुमान गर्न निकै गाह्रो छ, तर यसले ब्रिटेनको राजनीतिलाई धेरै तरिकाले परिवर्तन गरेको छ।

चार महिना लामो प्रचार प्रसार अभियान बुधबार अन्तिम चरणमा पुगेको छ।

अन्तिम समयमा अभियानकर्ताहरुले दोधारमा रहेका मतदाताहरुलाई अपिल गरिरहेका छन्।

आफ्नो मुख्य तर्कमा जोड दिँदै उनीहरु आफ्ना समर्थकहरुलाई भोट हाल्न प्रोत्साहन दिइरहेका छन्।

'ब्रिटेन इयुमै रहनुपर्छ'

ब्रिस्टल शहरमा पूर्व प्रधानमन्त्री सर जन मेजर र लेबर पार्टीकी पूर्व नेतृ ह्यारिएट हारमनसँगै देखिएका प्रधानमन्त्री क्यामरनले निर्णय अपरिवर्तनीय हुने र ब्रिटेनले इयु छोड्ने पक्षमा मत दिएमा फर्किने बाटो नरहने बताए।

बीबीसीको रेडियो फोर सँग बोल्दै उनले विमानबाट हामफालेर ककपिटमा चढ्न नसकिने बताए।

ब्रिटेनले इयु छोडेमा त्यसले व्यापक समस्या ल्याउन सक्ने भन्दै त्यसले आर्थिक वृद्धि, रोजगारी, परिवारको आर्थिक स्थिति र भविष्यका पिँढीको जीवन र अवसरमा नसोचिएको क्षति पुर्याउन सक्ने क्यामरनले बताए।

“सँगै रहँदा हामी आतंकवाद र जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सक्छौं, अर्थतन्त्रको राम्रो वृद्धि गर्न सक्छौं, र राम्रो व्यापार सम्झौता गर्न सक्छौं। देशका सबैले राम्रो अवसर पाउन् भन्ने म चाहन्छु,” उनले भने।

'ब्रिटेनले इयु छोड्नुपर्छ'

तर बोरिस जोनसन र इयु छोड्नुपर्छ भन्ने अभियानमा लागेका अन्यले भने ब्रिटेनले ईयु छोड्दा मात्र स्वतन्त्रता पाउने बताए।

देशको अर्थतन्त्र ओरालो लाग्न सक्छ भन्ने देखाएको आर्थिक सर्वेक्षणलाई उनीहरुले अस्वीकार गरे।

ईंग्ल्याण्डको भ्रमणमा जानुअघि बिलिंग्सगेटको माछा बजारमा बोल्दै लंडनका भूतपूर्व मेयर जोनसनले आफ्नो देशमाथि विश्वास गर्न र यो क्षणको सदुपयोग गर्न आह्वान गरे।

“यो एकदम महत्वपुर्ण क्षण हो। धेरै मानिसले आफ्नो निर्णय गर्ने समय हो। उनीहरुले आफ्नो देशमाथि र हाम्रो क्षमतामाथि विश्वास गर्नेछन् भन्ने मैले आशा गरेको छु,” उनले भने।

प्रजातन्त्रको लागि बोल्ने समय आएको भन्दै असफल हुँदै गईरहेको र असक्षम इयु प्रणालीसंग नाता तोड्ने दिन आएको उनले बताए।