बहुमूल्य पत्थर खेर जाँदै

  • 22 जुन 2016
जाजरकोटमा पाइने काइनाइट तस्वीर कपीराइट .
Image caption आभूषणमा प्रयोग हुने जाजरकोटको काइनाइट जस्ता पत्थरको कति परिमाण नेपालमा छ भन्ने यकीन तथ्यांक छैन

नेपालका पहाडी र हिमाली क्षेत्र र खोला किनारमा विभिन्न किसिमका बहुमूल्य र अर्ध बहुमूल्य पत्थरको उचित सदुपयोग नभएको भन्दै खानी सञ्चालक तथा गहना व्यवसायीले दुःख व्यक्त गरेका छन्।

पूर्वदेखि पश्चिमसम्म क्वार्ज अर्थात स्फटिक,धादिङमा रुबी अर्थात माणिक, संखुवासभामा गार्नेट अर्थात रक्तमणि र अक्वामरीन अर्थात नील हरितमणि, ताप्लेजुङमा पाईने ब्लु स्याफायर अर्थात नीलमणि लगायतका विभिन्न बहुमूल्य पत्थर पाईने नेपाल खनीज तथा द्रव्य संघले बताएको छ।

ती मध्ये पनि जाजरकोटमा पाइने काइनाईट जस्ता केही पत्थर विश्वकै उत्कृष्ट गुणस्तरका भएको गहना व्यवसायीहरु बताउँछन्।

यस्ता पत्थरको कति परिमाण नेपालमा छ भन्ने यकीन तथ्यांक निकाल्नका लागि पर्याप्त अनुसन्धान नभएको नेपाल खनीज तथा द्रव्य संघका अध्यक्ष विद्यासागर ताम्राकारले बताए।

ग्रामकै लाखौं

खानीबाट निकालिएका पत्थरमध्ये औसतमा एक देखि पाँच प्रतिशतसम्म ‘जेम क्वालिटी’का हुनसक्ने खानी सञ्चालकहरु बताउँछन्।

‘जेम क्वालिटी’ अर्थात गहनामा प्रयोग गर्न मिल्ने स्तरका पत्थरहरु आभूषणमा प्रयोग हुन्छन् भने बाँकी पत्थर सौन्दर्य प्रशाधनमा प्रयोग हुन्छन्।

कच्चा स्वरुपमा किलोको ५०० देखि बीसौं हजारसम्म बिक्ने यस्ता पत्थर प्रशोधित भएर आएपछि ‘जेम क्वालिटी’को मूल्य क्यारेटमा तोकिन्छ, जसको ग्रामकै लाखौं रुपैयाँ पर्न सक्छ।

विगतमा खानी सञ्चालकहरुले कच्चा स्वरुपमा नै यस्ता पत्थरको निर्यात गर्ने गरेका थिए।

तर सरकारले करीब २ वर्ष देखि यस्ता पत्थरको निर्यातमा प्रतिबन्ध लगाएको छ।

निकासी प्रतिबन्धित

यस्ता पत्थरलाई कच्चा पदार्थका रुपमा देशबाहिर लैजानै क्रमलाई निरुत्साहित गर्न निकासी रोकिएको खानी तथा भूगर्भ विभागका निमित्त महानिर्देशक राजेन्द्र प्रसाद खनालले बताए।

खनालले भने, “एक चरण यस्ता पत्थरलाई थप प्रशोधन गर्दा तिनीहरुको मूल्य पनि बढ्छ। त्यसकारण मूल्य अभिवृद्धि गरेर मात्रै निर्यात गर्न प्रोत्साहन गर्नका लागि कच्चा पदार्थको निकासीमा रोक लगाइएको हो।”

तर औपचारिक रुपमा निकासी रोकिएको भएता पनि खुला सिमानाको फाइदा उठाउँदै अवैध रुपमा यस्ता पत्थरको निकासी कायम रहेको गुनासो विज्ञ र व्यवसायीले गरेका छन्।

यस्ता समस्याको नियन्त्रण गर्नका लागि नेपालमै पत्थरहरुको प्रशोधन कार्यलाई सरकारले प्रोत्साहन दिनुपर्ने नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन।

“देशको अमूल्य सम्पत्ति कम मूल्यमा विदेशिनु त राष्ट्रलाई नै घाटा हो। त्यो रोक्नु त ठिकै हो, तर त्यो मात्रै समाधान होइन। यो कदमले खानी व्यवसायमा आश्रित श्रमिकलाई बेरोजगार बनाउने भयो, र अवैध निकासीलाई सहयोग पु-याउने भयो।“

प्रशोधनको आवश्यकता

निर्यात रोक्ने वा खुलाउने भन्दा पनि खानीलाई व्यवस्थित गर्नपट्टि सरकारको ध्यान जानुपर्ने महर्जनको विचार छ।

“पत्थर उत्खनन भएर आएपछि त्यसलाई प्रशोधन गर्न पर्यो। जेम क्वालिटी र औद्योगिक क्वालिटी छुट्याउनुपर्यो,” उनले भने।

तर नेपालमा यस्ता पत्थरको प्रशोधन गर्नका लागि उपकरण र दक्ष जनशक्तिको अभाव भएको खानी व्यवसायीहरु बताउँछन्।

जाजरकोटमा टुर्मालिन र काइनाईट अर्थात नीलो स्फटिकको खानी सञ्चालन गर्ने गोपालप्रसाद पाण्डेले भने, “प्रशोधनको लागि चाहिने दक्ष जनशक्ति हामीसंग छैन, र त्यसका लागि चाहिने उपकरण महंगो छ। सदियौं देखि भारतीयहरुले यो काममा दक्षता हासिल गरिरहेको हुनाले उनीहरुको उत्पादनसंग हामी तुरुन्तै प्रतिस्पर्धा गर्न सक्दैनौं।”

संरचनाको अभाव

आफुले सानो परिमाणमा पत्थरहरु प्रशोधन गर्दै आएको भएता पनि त्यस्ता पत्थर आयातीत पत्थर भन्दा महंगो हुने हुनाले आफ्ना उत्पादनका लागि बजार पाउन मुश्किल भएको पाण्डेको अनुभव छ।

उता गहना व्यवसायीहरुले भने देशको अमूल्य सम्पत्ति कौडीको भाउमा बाहिरिरहँदा स्वदेशी उत्पादनको अभावमा आफुले भने अझै पनि महंगो दरमा आयातीत पत्थर नै प्रयोग गर्नुपरेको गुनासो गरेका छन्।

“सरकारले कि त दक्ष जनशक्ति तयार गर्नुपर्यो, कि त वैध रुपमा निकासी खुलाउनु पर्यो। हामीले विभिन्न सरकारी निकायसंग छलफल गर्यौं र ज्ञापनपत्र बुझायौं। तर केही सुनुवाइ भएन,” पाण्डे भन्छन्।

खानी उद्योगलाई प्रवर्द्धन गर्ने र अवैध निकासी नियन्त्रण गर्ने सरकारी कदम अपर्याप्त हुँदा देशका श्रोतको सदुपयोग हुन नसकी जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बींड भएको भन्दै बहुमूल्य पत्थरका व्यवसायीले दुःख व्यक्त गरेका छन्।