माग पूरा नहुँदासम्म वार्ता हुन्न: तमलोपा

  • 23 जुन 2016

सरकार समक्ष राखेका केही आधारभुत माग पुरा नहुँदासम्म तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाले सरकारसंग थप वार्ता नगर्ने बताएको छ।

नवलपरासीमा सम्पन्न सो पार्टीको पहिलो महाधिवेसनले तराई मधेसका जनताको अधिकारको लागि भईरहेको आन्दोलनलाई अझै सशक्त बनाउने निर्णय गरेको पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले बताए।

जवाफ

गत साता सरकारले पत्र पठाएर नै वार्ताको आह्वान गरेकोमा आन्दोलनरत दलका तर्फवाट पनि सरकारलाई लिखित पत्र पठाएर जवाफ फर्काएको बताउँदै महाधिवेसनवाट सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चुनिएका नेता हृदयेश त्रिपाठीले अब वार्ताका लागि मात्र वार्ता गर्ने पक्षमा पार्टी नहरेको बताए।

उनले भने, "शहिदहरुलाई शहिद घोषणा घाइतेहरुको उपचार र मुद्दामा फसाइएकाहरुको मुद्दा फिर्ता र थुनामा रहेकालाई रिहाइ त्यति गरेपछि वार्ताको लागि वातावरण बन्छ। अब निरर्थक वार्ताको आवश्यकता छैन। किनभने समयको खेरमात्र हुन्छ। झण्डै झण्डै २२ वटा वार्ता त म आफैँले पनि आज नेतृत्व गरेँ।"

बिहीबार अपरान्ह महाधिवेसनस्थल परासीमा बीबीसीसंग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष त्रिपाठीले सरकारले औपचारिकता पुरा गर्ने पाराले मात्र वार्तामा बोलाउने गरेको पनि बताए।

उनले भने, "वार्ताको लागि सरकार पनि तयार छ भन्नको लागि बेला बेला चिठ्ठी लेख्ने, वकतब्य जारी गर्ने जस्तो कर्मकाण्डी काम गर्नुहुन्छ उहाँले। त्यसबाहेक अरु केही छैन।"

'क्षमा अभियान'

तीन दिनका लागि बोलाईएको महाधिवेसन पदाधिकारी चयनमा सर्वसम्मत हुने अवस्था नदेखिएपछि थप एक दिन लम्ब्याईएको थियो।

तराई केन्द्रित दलका नेताहरुलाई जमिन्दार भन्ने आरोप निरन्तर लाग्न थाले पछि तमलोपाको पहिलो महाधिवेसनबाट क्षमा अभियान शुरु गर्ने निर्णय पनि गरेको छ ।

क्षमा अभियान भनेको के हो त ? फेरी नेता ह्रदयेस त्रिपाठी ।

"विशेषगरि दलितहरुसँगको भेदभाव, अछुतको व्यवहार। अन्न उत्पादन गर्दा भकारीमा राख्दासम्म दलितको सहयोग लिइन्छ। खानेबेला र पकाउने बेलामा मात्रै अछुत भनिन्छ। हामीले आफ्ना पुर्खाबाट गरिएको त्यस्तो काम अब तमलोपाका कार्यकर्ता र नेताहरुले अबदेखि त्यस्तो नगर्ने प्रण गरेका छन्।"

महाधिवेसनले महन्थ ठाकुरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ भने वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी, उपाध्यक्ष बृषेश चन्द्र लाललगायत धेरै जसो सदस्यहरु निर्विरोध चयन भएका छन्।

महासचिव, कोषाध्यक्ष, लगायत अन्य केही पदमा सर्वसम्मत नभएपछि निर्वाचन प्रकृया शुरु गरिएको थियो।

फेरी बसेको बन्दसत्रले बाँकी पदाधिकारी चयन गर्ने जिम्मा अध्यक्ष ठाकुरलाई दिंदै महाधिवेसन सम्पन्न भएको बताईएको छ।