इयुमा रहने या बाहिरिने जनमत संग्रह: मतदान जारी

  • 23 जुन 2016
तस्वीर कपीराइट
Image caption मतदान सम्पन्न भएपछि सिलबन्दी मतपेटिका गणना केन्द्रमा लगिनेछ

ब्रिटेन युरोपेली संघको सदस्य रहिरहने या बाहिरिने भन्नेबारे ऐतिहासिक जनमत संग्रहका लागि मतदान भइरहेको छ।

निर्वाचन आयोगका अनुसार ४६,४९९,५३९ मानिसहरुले मतदानमा भाग लिन पाउनेछन्।

मतदान केन्द्रहरु स्थानीय समय विहान सातबजेदेखि खुला भएका छन् र राती दश बजे बन्द हुनेछन्।

यो ब्रिटेनको इतिहासमा तेस्रो देशव्यापी जनमतसंग्रह हो ।

मतपत्रको प्रश्न

सदस्यबाट बाहिरिने कि रहिरहने भन्ने पक्षहरुबीच चार महिना लामो बहस पछि जनमत संग्रह हुन लागेको छ।

अरु प्रसारकहरु जस्तै बीबीसीमाथि मतदान जारी रहँदा जनमत संग्रह सम्बन्धी विषयहरु प्रसारण गर्ने बारे थुप्रै सीमाहरु छन्।

जनमत संग्रहको मतपत्रमा 'संयुक्त अधिराज्य युरोपेली संघको सदस्य रहिरहन ठिक या बाहिरिन ठिक?' भन्ने प्रश्न सोधिएको छ।

जुन पक्षले खसेका मतको आधा भन्दा बढि मत प्राप्त गर्छ त्यसैले जितेको मानिनेछ।

जनमत संग्रहको मतदान पुरा भएपछि सिलबन्दी गरिएका मतपेटिकाहरु संकलन गरेर ३८२ वटा स्थानीय गणना केन्द्रहरुमा लगिनेछ।

यसमा इङल्याण्ड, स्कटल्याण्ड र वेल्सका सबै स्थानीय सरकारका क्षेत्रहरु तथा नर्दर्न आयरल्याण्ड र जीब्रल्टरका एक एक क्षेत्र परेका छन्।

अन्तिम परिणाम घोषणा

यी क्षेत्रबाट आउने मत परिणामहरु रातभर नै प्रकाशित भइरहनेछन्।

यिनै मत परिणामका आधारमा अन्तिम राष्ट्रिय परिणामको घोषणा प्रमुख गणना अधिकारीले म्यानचेष्टर टाउनहलबाट गर्नेछन्।

चुनाव आयोगले अन्तिम परिणाम शुक्रबार ब्रेकफाष्ट समयसम्ममा आइसक्ने अनुमान गरेको छ।

यो अघिको राष्ट्रव्यापी जनमत संग्रहमा पाँच वर्ष अघि मतदाताहरुले सांसदहरु चयन हुने प्रक्रिया परिवर्तन गर्ने कि भन्ने प्रयत्नलाई अस्वीकार गरिदिएका थिए।

पहिलो जनमत संग्रह १९७५ मा भएको थियो। उक्त जनमत संग्रहमा ब्रिटेन त्यसबेलाको युरोपियन इकोनोमिक कम्युनिटिको सदस्य रहिरहने कि नरहने भन्नेबारे सोधिएको थियो।