इयु छाड्ने ब्रिटिश निर्णयले विश्व बजारमा प्रभाव

  • 24 जुन 2016
तस्वीर कपीराइट Reuters

करीब बाउन्न प्रतिशतको बहुमतले संयुक्त अधिराज्यले युरोपेली संघ छाड्ने निर्णय आए लगत्तै विश्व बजारमा त्यसको व्यापक प्रभाव परेको छ।

कैयौं देशका केन्द्रिय ब्यांकहरुले ब्रिटेनको निर्णयपश्चात वित्तिय स्थिरता कायम गर्न आवश्यक कदम चाल्न आफुहरु तयार रहेको बताएका छन्।

लन्डन स्टक बजार आठ प्रतिशतले घटेको छ।

अन्य युरोपेली बजारहरु पनि खस्किएका छन्। एसियाका स्टक बजारहरुमा पनि ब्रेक्जीटको प्रभाव परेको देखिएको छ।

पाउण्ड स्टरलिंगको मूल्य गत तीस वर्ष यताकै तल्लै स्तरमा झरेको छ।

ब्यांक अफ इङ्ग्ल्याण्डका गभर्नर मार्क कार्नले उक्त निर्णयपश्चात केही वित्तिय प्रभाव पर्नु अपेक्षित नै रहेको बताए।

इयु छाड्ने पक्षमा नतीजा आए के गर्ने भन्ने बारे ब्यांकले पहिले नै योजना बनाएको भन्दै उनले वित्तिय स्थिरताका लागि आवश्यक अतिरिक्त उपाय गरिने बताएका छन्।

युरोपेली केन्द्रिय ब्यांक तथा ब्यांक अफ जापानले पनि त्यस्तै प्रतिबद्धता व्यक्त गरेका छन्।