ब्रिटेन-इयु: ताजा जानकारी

  • 24 जुन 2016

२०.०१ संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ताले जारी गरिएको वक्तव्यमा भनिएको छ महासचिवले ब्रिटेनको जनमत संग्रहलाई नजिकबाट नियालीरहेका थिए।

तस्वीर कपीराइट AP

सो वक्तव्यमा भनिएको छ, “अब संयुक्त अधिराज्य र इयुका सदस्य राष्ट्रहरुले नयाँ प्रक्रियामार्फत आफ्नो अगाडीको बाटो तय गर्ने भएपछि महासचिव विश्वस्त छन् कि युरोपको ऐतिहासिक रुपमा प्रमाणित व्यवहारिकता र साझा जिम्मेवारी युरोपेली जनताको चासोकै पक्षमा हुनेछ।”

१९:३८ डिमोक्रेटिक पार्टीकी तर्फबाट अमेरिकी राष्ट्रपति पदको उम्मेदवारीकी आकांक्षी हिलरी क्लिन्टनले एक वक्तव्यमार्फत ब्रिटेनका जनताको निर्णयलाई आफूले सम्मान गर्ने बताएकी छन्।

“हामी ब्रिटेनसँगको विशेष सम्वन्ध र युरोपसँगको हाम्रो गठबन्धनबारेको अमेरिकी प्रतिवद्धताबारे प्रप्ट हुन जरुरी छ।”

उनले अहिलेको अन्यौलमाझ ह्वाइट हाउसमा स्थीर, धैर्यवान र अनुभवी नेतृत्व आवश्यक रहेकोमा जोड दिएकी छन्।

१९:०८ अमेरिकी राष्ट्रपति ओबामाले एक वक्तव्यमार्फत ब्रिटेनका जनताले जाहेर गरेको अभिमतलाई आफूले सम्मान गर्ने बताएका छन्।

तस्वीर कपीराइट EPA

ह्वाइट हाउसले जारी गरेको राष्ट्रपतिको वक्तव्यमा भनिएको छ, “अमेरिका र ब्रिटेनबीचको सम्वन्ध महत्वपूर्ण छ र उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा ब्रिटेनको सदस्यता अमेरिकी विदेश नीति, सुरक्षा र आर्थिक नीतिको महत्वपूर्ण हिस्सा रहि रहनेछ।”

उनले इयु र अमेरिकाबीचको सम्वन्ध पनि विश्वमा स्थीरता, आर्थिक विकास र प्रजातान्त्रिक मूल्यमान्यता विस्तार गर्नको लागि महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।

१८:५७ क्यामरन मन्त्रिपरिषदका स्कटल्याण्ड मन्त्री डेभिड मनडेलले इयू मतदानबारे स्कटल्याण्डको सरकारसँग "रचनात्मक कुराकानी" थालेको बताएका छन्।

१७:५२ युरोपेली संसदका प्रमुख मार्टिन शुल्ज भन्छन् इयुले ब्रिटेनलाई युरोपेली एकल बजारमा पुन: सदस्यता लिन दिने छैन।

तस्वीर कपीराइट

“छोड्ने भनेको छोड्ने हो,” उनले भने।

इयुबाट बाहिरिने निर्णय गरेपछि फेरि ब्रिटेन एकल बजारमा आउन मिल्ला भन्ने प्रश्नको जवाफमा उनले भने, “पक्कै पनि मिल्दैन। ब्रिटेनले भर्खरै मात्र इयुलाई छोड्ने निर्णय गरेको छ त्यस्को अर्थ इयुको एकल बजार हो। यो बुध्दीमत्तापूर्ण निर्णय होला र? यो त भावनामा बहेर लिइएको निर्णय हो।”

उनले ब्रिटेनका बाहिरिने पक्षका नेताहरुले ब्रिटेनका जनतालाई झुठ्ठा आश्वासन बाँडेको बताए।

१७: ४६ युरोपेली संघ छोड्ने भन्ने मत परिणाम पछि रोएल ब्याङ्क अफ स्कटल्याण्ड (आरबीएस) र लोयड्स ब्यांकको शेयरको मूल्य घटेको छ।

१७:३० स्कटल्याण्डमा रहेका अमेरिकी रिपब्लीकन पार्टीबाट राष्ट्रपतिका संभावित उम्मेदवार डोनाल्ड ट्रम्पले भने – भावी ट्रम्प प्रशासनले “स्वतन्त्र ब्रिटेन”लाई समर्थन गर्नेछ।

तस्वीर कपीराइट AFP
Image caption जर्मन चान्सलर एंगेला मर्कलले शान्त र संयमित रहन आह्वान गरेकी छन्

१६:५० जर्मन चान्सलर एंगेला मर्कलले जनमत संग्रहको मत परिणाम पछि अब ‘शान्त र संयमित’ रहनुपर्छ भनेकी छन्।

बर्लिनमा दिएको भाषणमा उनले भनिन्: युरोप, यसका नागरिक र अपेक्षा फरक फरक छन्। इयुले उसका नागरिकलाई कस्तो सुविधा दिने हो भन्ने महशुस गराउन सक्नुपर्छ। विश्वव्यापीकरण भइरहेको संसारमा एक्लै बसेर समाधान खोज्नु ठूलो चुनौति हुनसक्छ। इयुका संस्थापक पिताहरुले रोम संझौतामा निहित बाटो हिंडेर एकता र शान्ति प्राप्त गरेको इतिहास विर्सनुहुन्न।' जर्मनीको इयुमा विशेष चासो छ भन्दै उनले फ्रान्सेली, इटालेली र युरोपेली नेताहरुलाई ब्रेक्जिटबारे अर्को हप्ता कुराकानी गर्न निमन्त्रणा गरेकी छन्।

१६.४८ क्रेमलिनले यूकेसँग राम्रो सम्बन्ध हुने आशा राखेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव दीमित्रि पेस्कोभले भनेका छन् ‘नयाँ वास्तविकतामा’ यूकेले रुससँग ‘राम्रो सम्बन्ध राख्नुपर्ने आवश्यकता’ महशुस गर्नेछ।

१६:१४ प्रेस सम्मेलनमा बोल्दै स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टरजनले युकेले इयू छोड्ने निर्णय गरेकोमा ‘गहिरो दुख’ प्रकट गरेकी छन्। उनी भन्छिन्, ‘इयुमै रहनुपर्छ भनेर मतदान गरेको स्कटल्याण्डका लागि आफ्नो भावना विपरीत इयुबाट बाहिरिनुपर्ने विषय स्वीकार्न प्रजातान्त्रिक रुपमा मिल्दैन।’

१६:१३ चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयीङले भनेका छन् चीनले ब्रिटेनका जनताको निर्णयलाई सम्मान गर्दछ। उनले इयु र ब्रिटेनसँग चीनको सुसम्बन्ध रहेको बताउँदै दुबै पक्षले छिट्टै नयाँ समझदारी बनाउने आशा व्यक्त गरेका छन्।

तस्वीर कपीराइट AP

१६:१२ ब्रसल्समा भएको प्रेस सम्मेलनमा युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड युंकरले आगामी संझौताहरुबारे भने, ‘हामी (यूके) भाविष्यमा युरोपेली संघको नजिकको सहकर्मी हुनेछ भन्ने आशा राख्छौं।’

१६:११ फ्रान्सका राष्ट्रपति फ्रांस्वां ओलान्दले भनेका छन् इयुबाट बाहिरिने ब्रिटेनको निर्णयसंगै इयुको गम्भीर परिक्षा हुनेछ। उनले यो बेला इयुले आफ्नो ऐक्यबद्धता देखाउनु पर्ने बताए।

१६:०६ ब्रिटेन इयुबाट बाहिरिनु पर्छ भन्ने अभियानका पक्षधर कन्सरभेटिभ दलका सांसद माइकल गोभले प्रधानमन्त्री र अर्थमन्त्री दुवैको प्रंशसा गरेका छन्। बीबीसीकी राजनीतिक सम्पादक लउरा क्युन्सबर्गको ट्वीटमा भनिएको छ- गोभले प्रधानमन्त्री क्यामरन महान प्रधानमन्त्रीका रुपमा सम्झिइने छन् भनेका छन्। उनले अर्थमन्त्री जर्ज असबोर्नप्रति पनि सम्मान व्यक्त गरेका छन्।

तस्वीर कपीराइट AP

१५:५७ बोरिस जन्सन: डेभिड क्यामरन हाम्रो समयका असाधारण राजनीतिज्ञ

कन्जरभेटिभ पार्टीका बाहिरिने पक्षका अभियानकर्ता बोरिस जन्सनले डेभिड क्यामरनप्रति सम्मान व्यक्त गर्दै भनेका छन्:

‘उनी हाम्रो समयका असाधारण नेता हुन् भन्ने मेरो विश्वास छ, उनले यो देशलाई युरोपको बहुआयामिक अर्थतन्त्र बनाए। उनकै साहसका कारण यो देशलाई ४३ वर्षपछि पहिलो जनमत संग्रह प्राप्त भयो।’

१५:४१ उत्तर एटलान्टिक सन्धी संगठन नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले जनमत संग्रहको नतिजापछि पनि नेटोमा ब्रिटेनको उपस्थितिमा कुनै परिवर्तन नहुने विश्वास व्यक्त गरेका छन्। उनले ब्रिटेन नेटोको एक बलियो र प्रतिबद्ध साझेदार रहिरहने र नेटो गठबन्धनमा उसले नेतृत्वदायी भूमिका खेलिरहने बताएका छन्।

१५:३५ ब्रिटेनका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले सरकारलाई हतारमा अविवेकी निर्णय नलिन सरकारलाई आग्रह गरेका छन्। लेबर पार्टीका पूर्व प्रधानमन्त्रीले अब संयुक्त अधिराज्यका सामु आधारभूत आर्थिक एवं राजनीतिक प्रश्नहरु खडा भएकाले देश एकताबद्ध हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री डेभिड क्यामरनले लिस्बन सन्धीको धारा ५० को प्रयोग नगरेर एकदम ठिक गरेको उनले बताए।

१५:३५ प्रधानमन्त्री डेभिड क्यामरनले महारानी एलिजाबेथलाई भेटेका छन्। पद त्याग गर्ने घोषणा गरेपछि उनले महारानीलाई भेट्न बकिंगघम दरबार पुगेका हुन्।

१५:३४ ब्रिटेनमा भएको जनमत संग्रहको नतिजामाथि प्रतिक्रिया दिंदै अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीको तर्फबाट सम्भाव्य उम्मेदवार डोनल्ड ट्रम्पले ब्रिटेनका जनताले आफ्नो देशको बाग्डोर आफुले नै लिने सम्बन्धमा गरेको निर्णय ठूलो विषय भएको बताएका छन्।

१५:३० ब्रिटिश उद्योग परिसंघले बजारलाई शान्त र स्थिर बनाइराख्न बलियो र संयमपूर्ण नेतृत्व आवश्यक रहेको जनाएको छ।

१५:३० चेतावनी घण्टी – कात्या एडलर, बीबीसी युरोप सम्पादक

ब्रिटेन इयुबाट बाहिरिएपछि यसले सत्तरी वर्षदेखिको युरोपियन एकीकरण उल्ट्याउन सक्छ भन्ने चिन्ता इयुमा छ।

युरोपेली राजनीतिलाई नजिकबाट नियालिरहेको मैले यति ठूलो मात्रामा युरोपप्रति आशंका कहिल्यै देखेको थिइन।

ब्रिटेनले गरेको रहने/बाहिरिने मतदानलाई थुप्रै युरोपेलीहरुले इर्ष्यापूर्ण नजरले हेरिरहेका थिए। छोड्ने अभियानकर्मीले व्यक्त गरेका गुनासाहरु यो महादेशभरका कैयौंका गुनासा हुन्।

युरोपप्रति सन्देह व्यक्त गर्ने राजनीतिज्ञहरुले ब्रिटेनको जनमतसंग्रहको परिणामको रटान लगाइरहेका छन्।

तर ब्रसल्सको अवस्था भने बडो अवसादपूर्ण छ। बाहिरिने मतले अहिलेकै अवस्थामा इयुले काम गर्न नसकेको भन्ने चेतावनी घण्टी बजाएको छ।