बहिर्गमन वार्ताबारे रुखो नबनौँ: मर्केल

  • 26 जुन 2016
brexit तस्वीर कपीराइट AFP
Image caption इयुका विदेशमन्त्रीहरुले ब्रिटेनको बहिर्गमन प्रक्रिया छिटो सुरु हुनुपर्नेमा जोड दिएका छन्

जर्मन चान्सलर एङ्गेला मर्केलले युरोपेली संघ इयुबाट ब्रिटेनको बहिर्गमन प्रक्रिया द्रुत गतिमा अघि बढाएर वार्ताको माहोल बिगार्न नहुनेमा जोड दिएकी छन्।

इयुले सम्बन्ध विच्छेदको कुनै पनि वार्ता सुरु हुनुअघि लिखित वा सम्बोधनका रुपमा औपचारिक जानकारी आवश्यक हुने प्रष्ट पारेको छ।

ब्रिटेनका नेताहरुले उक्त प्रक्रिया थाल्नुअघि केही समय लिने र कन्जर्भेटिभ पार्टीले नयाँ प्रधानमन्त्री नचुनेसम्म आफूहरुले कुर्न चाहेको बताउँदै आएका छन्।

त्यसको विरोध गर्दै युरोपेली नेताहरुले लामो विलम्बले इयुको अघि बढ्ने प्रयासमा बाधा पुर्याउने टिप्पणी गरेका छन्।

छलफल

बिहीबारको जनमतसंग्रहको परिणामपछि ब्रिटेनले कहिले र कसरी इयुबाट औपचारिक रुपमा अलग हुने घोषणा गर्नुपर्छ भन्नेबारे छलफलहरु चलिरहेका छन्।

जर्मनीसहित युरोपेली संघका संस्थापक राष्ट्रका विदेशमन्त्रीहरुको बैठकले ब्रिटेनलाई आफ्नो बहिर्गमन प्रकिया तत्कालै थाल्न आग्रह गरेपछि चान्सलर मर्केल बोल्दै थिइन्।

उनले भनिन्, “इमानदारीसाथ भन्दा यसका लागि वर्षौँ लाग्नुपर्छ भनेको होइन तर अहिले म छोटो समयमा नै यो भइहाल्नुपर्छ भन्ने पक्षमा उभिन्न्। ब्रिटेनले यो प्रस्ताव छलफलका लागि ल्याएकै छैन र सम्झौता पनि पूर्ण छैन। त्यसो नगरेसम्म ब्रिटेन सम्पूर्ण अधिकार र जिम्मेवारीसहित इयुको पूर्ण सदस्य रहिरहन्छ।”

बिहीबार सम्पन्न जनमतसंग्रहमा साँघुरो अन्तरले इयुबाट बाहिरिने धारणा राख्ने पक्ष विजयी भएको थियो।

यसअघि जर्मन विदेशमन्त्रीले ब्रिटेनको बहिर्गमनबारेको वार्ता जतिसक्दो चाँडो थालिनुपर्ने बताएका थिए।

ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनले आफूले अक्टोबरमा पद छाडेपछि आफ्ना उत्तराधिकारीले उक्त विषयमा छलफल अघि बढाउने बताएका थिए।

प्रधानमन्त्री क्यामरनले इयुका नेताहरुसँग कुरा गरेको एक दिनपछि बुधवार ब्रिटेनविना इयुको शीर्ष बैठक बस्ने तय भएको छ।

इयुबाट अलग हुन ब्रिटेनले लिजबन सन्धिको धारा ५० क्रियाशील गराउनुपर्छ जसले बहिर्गमनको वार्ताका लागि दुई वर्षको समयसीमा उपलब्ध गराउँछ।

ब्रिटेनले लिखित वा मौखिक रुपमा युरोपेली परिषदलाई आफ्नो निर्णय जानकारी गराएपछि उक्त धारा क्रियाशील हुने बताइएको छ।

यसैबीच जनमत संग्रहको परिणामपछि विपक्षी लेबर पार्टीका नेता जेरेमी कोरबिनले आफ्ना विदेश मामिला प्रवक्ता हिलरी बेनलाई बर्खास्त गरेका छन्।

कोरबिनले उनीविरुद्धको अविश्वास प्रस्तावमा मतदानका लागि अस्वीकार गरे राजीनामा दिन छायाँ मन्त्रिपरिषदका सदस्यहरुलाई बेनले उचाल्दै आएको भन्ने विवरणहरु आएका थिए।

कोरबिनको नेतृत्वमा भएको ‘सुस्त’ चुनावी अभियानका कारण जनमत संग्रहमा ठूलो संख्यामा लेबरका समर्थकहरुले पार्टी निर्णय अनुसार इयुमै रहनुपर्ने पक्षमा मत नहालेको आरोप लागिरहेको छ।