'संसद खोल्न' सत्तापक्ष-विपक्षीको कार्यदल

  • 27 जुन 2016
Image caption संसदमा अवरोध लम्बिँदै गएपछि शीर्षस्थ नेताले सहमति खोज्न कार्यदल बनाएका हुन्

व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जारी राखेको अवरोध मंगलबारदेखि अन्त्य हुने आशा सत्तारुढ दलका नेताहरुले व्यक्त गरेका छन्।

लगातार संसद बैठक अवरुद्ध हुन थालेपछि सत्ता र प्रतिपक्षका नेताहरु सम्मिलित संयुक्त कार्यदलले सहमति खोज्न छलफल शुरु गरेको छ।

शीर्षस्थ नेताहरुले मंगलबार दिउँसोसम्म सहमति खोज्ने जिम्मेवारी दिइएको एउटा कार्यदल बनाएका हुन्।

भूकम्पबाट भत्किएका घर बनाउन सरकारले दिने भनिएको रकम एकैपटक दिनु पर्ने माग राख्दै कांग्रेसले संसद चल्न दिएको छैन।

आधार

कार्यदलको पहिलो बैठकलाई सकारात्मक भन्दै त्यसैले संसद अवरोध अन्त्य हुने आशा पलाएको कार्यदलका एकजना सदस्यले बताए।

तर के आधारमा?

कार्यदलका सदस्य तथा राप्रपा नेपालका नेता दिलनाथ गिरीले भने, "विगतको सरकारले चार किस्तामा दिने भनि गरेको सम्झौतालाई पुनर्मूल्याङ्कन गर्दै के गरेर व्यवस्थित गर्ने र साझा समस्याको रुपमा लिएर त्यसलाई सुल्झाउने भन्ने कुरा सकारात्मक रुपमा भएको छ।"

सरकारले पनि संसद बैठकमा उत्पन्न अवरोध खुल्ने विश्वास लिएको छ।

कार्यदल बनाउने शीर्षस्थ नेताहरुको निर्णयपछि कानुनमन्त्री अग्नि खरेलले भने, "आफूले भनेको जस्तो कुरा मात्रै बोल्न तयार भएमा बोल्न दिने, नत्र अवरोध खडा गर्ने सुहाउँदो काम होइन। मलाई लाग्छ कांग्रेसले जिम्मेवारीपूर्वक सोंचेर आउँछ र संसदको अवरोध खुल्छ।"

आशंका

कांग्रेसको कदम 'भूकम्प पीडितलाई राहत दिलाउन दबाब दिने उद्देश्यभन्दा पनि सरकारलाई अप्ठेरो पार्ने वा त्यस्तै अन्य कुनै स्वार्थबाट प्रेरित हो कि' भन्ने आशंका सत्तापक्षमा पाइन्छ।

त्यसो होइन भने मंगलबार सहमति जुटने कार्यदल सदस्य गिरीको विश्वास छ।

उनले भने, "यदि जनताले दुख पाए भनेरै अवरोध गरिएको हो भने अब सहमति हुन्छ किनकि आफ्ना जनतालाई दुई लाख मात्र किन १० लाख दिन पाए पनि हुन्थ्यो नि, तर हाम्रो सामर्थ्यले भ्याउँछ?"

कार्यदलले मंगलबार बिहानसम्ममा सहमतिको प्रयास गर्ने र कुरा मिले पनि नमिले पनि शीर्षस्थ नेतासँग संयुक्त बैठकमा प्रस्तुत गर्ने योजना छ।