ब्रिटेनको बहिर्गमनबारे युरोपेली संसदमा बहस

  • 28 जुन 2016
तस्वीर कपीराइट AFP

ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरन, युरोपेली संघको सदस्यता त्याग्ने पक्षमा जनमत संग्रहको नतिजा आएपछि शिखर वार्ताका लागि ब्रसल्स पुगेका छन्।

उनले ब्रिटेन युरोपेली संघबाट बाहिरिने प्रकृयाका बारे युरोपेली नेताहरुसंग रचनात्मक वार्ता गर्ने आशा व्यक्त गरेका छन्।

गत विहीबार ब्रिटेनमा भएको जनमत संग्रहको परिणाम स्वरुप, ब्रिटेन युरोपेली संघबाट बाहिरिने पक्षमा नतिजा आएपछि, युरोपेली संघका २७ सदस्य राष्ट्रका नेताहरुसंग वार्ता गर्न ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरन ब्रसल्स पुगेका हुन्।

युरोपेली संसदका सभामुख, जर्मनीका मार्टीन शुल्जले पत्रकारहरुसंग कुरा गर्दै भनेका छन्, युरोपेली नेताहरुले वार्तामा प्रधानमन्त्री क्यामरनलाई उनले औपचारिक बहिर्गमनको प्रकृया आरम्भ गर्नमा देखाएको हिचकिचाहटलाई आफूहरुले बुझेको तर आफूहरु लामो समयसम्म प्रतिक्षा गर्न सक्ने अवस्थामा नरहेको बताउने छन्।

बहस

मार्टिन शुल्जले भने, ब्रिटेनको कन्जरभेटिभ पार्टीले आफ्ना आन्तरिक समस्याहरु समाधान नगरुञ्जेल भनेर उनकै शब्दमा, एउटा महादेशले प्रतिक्षा गरेर बस्ने अवस्था आउन दिन हुंदैन।

त्यसअघि युरोपेली संसदको बैठकले एउटा प्रस्ताव पारित गर्दै, ब्रिटेनले युरोपेली सन्धिको धारा पचासलाई तत्काल सकृय तुल्याएर बहिर्गमन प्रकृया आरम्भ गर्नु पर्ने बताएको थियो।

युरोपेली संसदको बैठक आरम्भ गर्दै युरोपेली आयोगका अध्यक्ष जं क्लोड युंकरले, ब्रिटेनको सरकारले आफ्नो स्थान स्पष्ट पार्नु पर्ने बताएका थिए।

ब्रसल्सस्थित बीबीसी सम्बाददाता बेथनी बेल भन्छिन्, युरोपेली संसदको बैठकमा आरोप प्रत्यारोप सहित कडा बहस भएको थियो।

तस्वीर कपीराइट AP
Image caption इयु सदस्यता परित्याग गर्ने ब्रिटेनको निर्णयले युरोपेली संसदलाई हल्लाइदिएको छ र विभाजीत तुल्याइदिएको छ।

थुप्रै युरोपेली संसदका सदस्यहरुले ब्रिटेन हट्न लागेकोमा दु:ख व्यक्त गरेका थिए।

तर त्यहां अवज्ञाकारी भावनापनि कडा रुपमा प्रस्तुत भएको थियो साथै भविष्य प्रतिको चिन्ता पनि।

युरोपेली सांसदहरुले एकता, सुधार र युरोपका जनतालाई एकआपसमा जोड्नु पर्ने आवश्यकताका बारे पनि चर्चा भएको हाम्री सम्बाददाता बेलले बताएकी छिन्।

उनी भन्छिन्, युरोपको आलोचना गर्ने समूहहरुका लागि भने त्यो सुखद समय थियो।

पहिले लगभग असम्भव ठानिएको अवस्थाले अहिले मूर्त रुप लिएको छ।