‘थप तीन सय मेगावाट बिजुली दिन भारत तयार’

  • 28 जुन 2016
दिल्ली
Image caption नेपाल र भारतका उर्जा अधिकारीहरुको वैठक भारतको राजधानीमा मंगलबार सम्पन्न भएको छ।

भारतको राजधानी दिल्लीमा नेपाल र भारतको उर्जा सचिवस्तरीय बैठकमा आगामी डिसेम्बर महिनापछि थप विजुली दिन भारत सहमत भएको छ।

थप तीन सय मेगावाटभन्दा बढी बिजुली दिने सहमति भएको एक अधिकारीले बताएका छन्।

अहिले नै नेपाल र भारतबीचका करिव एक दर्जन प्रशारण लाइनमार्फत नेपालले भारतबाट ३०० मेगावाटको हाराहारीमा बिजुली आयात गरिरहेको छ।

डिसेम्बरपछि सो परिमाण बढेर ६०० मेगावाट नाघ्ने नेपाल विद्युत प्राधिकरणका एक उच्च अधिकारीले बताए।

नेपालको ढल्केवर र भारतको विहार राज्यको मुजफरपुर जोड्ने प्रशारण लाइनबाट सबैभन्दा धेरै परिमाणमा बिजुली आयात गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले दिल्लीबाट बीबीसीलाई बताए।

सहमति

उनका अनुसार आगामी डिसेम्बरपछि सो प्रसारण लाइनबाट मात्र थप २२० मेगावाट बिजुली नेपाल ल्याउने प्रस्तावमा दिल्लीमा भएको सचिवस्तरिय वैठकमा दुईपक्षीय सहमति भएको छ।

उनले भने, “आउने सुख्खा यामलाई मध्यनजर गरेर हामीले थप तीन सय मेगावाट बिजुली ल्याउने प्रस्ताव गरेका थियौ, त्यसप्रति भारत सरकार सहमत भएको हो।”

गत फेब्रुअरीमा प्रधानमन्त्री केपी ओलीको दिल्ली भ्रमणको बेला उदघाटन भएको ढल्केवर-मुजफरपुर प्रसारण लाइनबाट हाल ८० मेगावाट बिजुली आइरहेको छ।

सो सम्झौतालाई नविकरण गर्दै दिल्लीमा भारत र नेपालका उर्जा अधिकारीहरुले आगामी हिउँदमा ढल्केवर-मुजफरपुर प्रसारण लाइनमार्फत नेपालमा बिजुली आपूर्तिको परिणाम बढाउन ढल्केवरमा सबस्टेशन निर्माणको काम छिटो सक्नु पर्नेमा जोड दिएको काफ्लेले बताए।

उनले भने, “ढल्केवरस्थित सब स्टेशनको निर्माण कार्य सम्पन्न भएन भने वैकल्पिक व्यवस्था गरेर भएपनि ३०० मेगावाट नेपाल ल्याउन दुबै पक्ष सहमत भएका छन्।”

योजना

उनका अनुसार कथंकदाचित २२० केभी क्षमताको ढल्केवर सबस्टेसनको निर्माण डिसेम्बरसम्म पुरा नभए घुम्ती सबस्टेशनको व्यवस्था गर्ने विकल्पबारे दुई देशका उर्जा अधिकारीबीच छलफल भएको छ।

त्यस्तै पूर्वको जोगवनी क्षेत्रबाट कुशाह-कटैया प्रसारण लाइन र मध्य तराईबाट पर्वानीपुर-रक्सौल प्रसारण लाइन निर्माणको कामलाई आगामी डिसेम्बर अघि नै सक्ने सहमति भएको छ।

ती प्रसारण लाइनबाट ५०/५० मेगावाट बिजुली डिसेम्बरपछि नेपाल आयात गर्ने योजना छ।

डिसेम्बरपछि सबै प्रसारण लाइनबाट आयात हुने बिजुलीको कुल परिमाण ६ सय मेगावाटभन्दा बढी हुने बताइन्छ।

यदि लक्ष्य अनुसार नै बिजुली आयात भए आउँदो हिउँदमा लोडसेडिङ लगभग ४ घन्टामा सीमित हुने प्राधिकरणको भनाइ छ।