‘भूकम्प पीडितलाई दुई किस्तामा राहत रकम’

  • 28 जुन 2016
तस्वीर कपीराइट .
Image caption प्रमुख प्रतिपक्षीको अवरोधका कारण केही दिनदेखि संसद बैठक अवरुद्ध छ

प्रमुख विपक्षी नेपाली कांग्रेसले चल्न नदिएको संसद खुलाउन भूकम्प पीडितलाई दुई लाख रुपियाँ दुई किस्तामा दिने विकल्पमा सहमति नजिक पुगेको सत्तापक्षका नेताले जनाएका छन्।

सबै रकम एकै किस्तामा दिनु पर्ने कांग्रेसको मागका माझ सत्तापक्षले तीन किस्तामा दिनु पर्ने बाध्यता सुनाउने गरेको थियो।

पटक-पटक संसद अवरुद्ध भएपछि वार्ताको टेबुलमा आएका सत्ता र प्रतिपक्षका नेताबीच मंगलबार विभिन्न चरणका बैठकले सहमति नजिक पुर्याएको दुबै थरी नेताको भनाई छ।

डेढ लाख

उनीहरुका अनुसार कार्यदल र शीर्षस्थ तहमा भएका छलफल निष्कर्षमै नपुगे पनि तिनले सहमतिको आधार तयार गरेका हुन्।

कार्यदलका सदस्य तथा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले भने, "नेपाली कांग्रेस पहिलो किस्ता डेढ लाख दिनु पर्ने पक्षमा आएको छ तर त्यो सहमति प्रधानमन्त्रीले संसद बैठकमा संवोधनका क्रममा उल्लेख गर्नु पर्ने पक्षमा छ।"

सत्तापक्ष त्यो मान्न तयार छैन।

विश्व व्याङ्क लगायतका दातृ निकायले राजनीतिक सहमतिमा प्रश्न उठाउन सक्ने भन्दै सतर्क हुनु पर्ने सत्तापक्षको तर्क थियो।

सकारात्मक

नेता गिरीले भने, "सहमति गरौं तर दातृ निकायसँग कुरा नगर्दासम्म त्यो प्रधानमन्त्रीले संसदमा बोल्न मिल्दैन भन्ने सत्तापक्षको भनाई थियो। त्यसमा कुरा मिल्न बाँकी छ।"

त्यसबारे प्रधानमन्त्रीसँग बुधवार विहान कुरा गर्ने सहमति भएको छ।

सभामुख ओनसरी घर्तीले 'सहमति नजिक रहेको भन्दै प्रमुख दलले समय मागेपछि संसद बैठक स्थगित गरेको' बताएकी छन्।

कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले पनि छलफल सकारात्मक महशुस गरे।

उनका अनुसार 'कांग्रेसको मागलाई ध्यानमा राखेर दातृ निकायसँगको सहमतिमा बाधा नपुग्ने गरी' सहमतिको खोज्न छलफल केन्द्रित छ।