विशाखापटनमको तत्काल उपयोग ‘कठिन’

  • 28 जुन 2016
तस्वीर कपीराइट AFP

नेपालले भारतको विशाखापटनम बन्दरगाह प्रयोग गर्नका निम्ति प्राविधिक र कूटनीतिक रुपमा दुवै देशबाट थुप्रै काम गर्न बाँकी रहेको अधिकारीहरुले बताएका छन्।

तेस्रो मुलुकसँगको आयातनिर्यात गर्न हाल एकमात्र कोलकताको बन्दरगाह प्रयोग गर्दै आएको नेपाललाई विशाखापटनम बन्दरगाह खुलेपछि आयात र निर्यातको ठूलो सम्भावना खुल्ला भएको बताइएको छ।

कोलकाताको दाँजोमा दुईगुणा टाढा रहेपनि पारवहन, छरितो कार्य र सुविधाको हिसाबले विशाखापटनम बन्दरगाह नेपालका लागि फाइदाजनक हुने व्यवसायीहरुले आशा गरेका छन्।

तर त्यसका लागि प्रशासनिक र कूटनीतिक कतिपय पक्षहरु भने मिलाउनुपर्ने उनीहरु बताउँछन्।

रेलमार्ग

नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने, “अरु देशबाट नजिक र कन्टेनरको मूल्य पनि अलि सस्तो हुने भयो र छिटो पनि पुग्ने भयो। अब विशाखापटनमदेखि हाम्रो वीरगञ्ज सुख्खा बन्दरगाहसम्मको रेलमार्ग बन्न सक्यो भने कोलकाताभन्दा पनि छिटो र राम्रो हुनेछ।”

लामो समयदेखि विशाखापटनम बन्दरगाह खोल्न माग राख्दै आएका नेपाली व्यापारीहरुको चासो नेपाली सीमासम्मको रेलमार्ग र ढुवानी खर्चमा केन्द्रित देखिन्छ।

आयात निर्यातको सांकेतिक शुरुवातको घोषणा गर्न विशाखापटनम पुगेका नेपालका मुख्य सचिव सोमलाल सुवेदीले कूटनीतिक रुपमा केही स्थायी नीतिहरु बनाउन बाँकी रहेको बताए ।

तर विशाखापटनमका सम्बन्धित पक्षहरुले आवश्यकता अनुसार सहयोग गर्ने वाचा गरेकोले उक्त बन्दरगाहको सेवा राम्रो हुने विश्वास व्यक्त गरे।

प्रतिवद्धता

उनले भने, “पहिला त हामीले त्यहाँ वाणिज्यदूतको कार्यालय नै खोल्न बाँकी छ। त्यो त प्रक्रियामा छ। हाम्रो आवश्यकता भनिसकेपछि उताबाट पनि सहयोग हुने प्रतिवद्धता भएको छ।”

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको बेला भएको समझदारी अनुरुप विशाखापटनम बन्दरगाह शुरु गर्न लागिएको हो।

तेस्रो मुलुकसँगको आयातनिर्यातमा यसअघि एकद्वारको रुपमा प्रयोग हुँदै आएको कोलकाता बन्दरगाहपछि खुलेको विशाखापटनम फराकिलो विकल्प हुनेमा शंका नभएको व्यवसायीहरु बताउछन्।