अफगानीस्तान विष्फोटमा परी दर्जनौं मारिए

  • 30 जुन 2016

अफगानीस्तानको राजधानी काबुल नजिकै भएको आत्मघाती विष्फोटमा परी कम्तीमा ३० प्रहरी तथा गैरसैनिक मारिएको अधिकारीहरुले जनाएका छन्।

आफ्नो तालीम पूरा भएको एक समारोहमा भाग लिई फर्किंदै गरेका प्रहरी चढेको गाडीमाथि दुईवटा बम प्रहार गरिएका थिए।

विष्फोटमा अन्य ५० घाईते भएका छन्।

बम विष्फोटको जिम्मा तालीबानले लिएको छ।

एक साता अगाडी काबुलमै भएको अर्को घटनामा एक बसमा बम विष्फोट गराईंदा क्यानाडेली दूतावासका लागि खटिएका १३ जना नेपाली सुरक्षा कामदारको मृत्यु भएको थियो।

तालीबानका एक प्रवक्ताले बिहिबारको घटनामा पहिलो बम हमलाकारीले एक बसमा हमला गरेको अनि जब तिनको उद्दार गर्न अन्य आए तिनीहरुको गाडीसंग विष्फोटक पदार्थ भरिएको गाडी जुधाइएको बताएका छन्।

घटनास्थल राजधानी काबुलबाट २० किलोमिटर पश्चिममा रहेको छ।

चर्कियो हिंसा

बीबीसीका कुटनीतिक सम्वाददाता जनथन मार्कस भन्छन् पोल्याण्डको राजधानी वार्सामा केही दिनमा हुन लागेको उत्तर एटलान्टिक सन्धी संगठन नेटोको शिखर सम्मेलन अगाडि अफगानीस्तानमा चर्किएका पछिल्ला हिंसाले त्यहाँ पश्चिमाहरुको सम्बन्ध निरन्तर कायम राखिनुपर्ने खाँचो देखाउँछन् किनकि स्थानिय सुरक्षा फौजले कानुनव्यवस्था पुनर्स्थापना गर्न सीमित सफलतामात्र पाएका छन्।

अमेरिका र नेटोको अफगानीस्तानको लडाकू मिशन सन् २०१४ को डिसेम्बरमा समाप्त भएको थियो।

त्यसयता अमेरिकी फौजले सल्लाहकारको भूमिका बहन गरेका छन्। तर उनीहरुले इस्लामिक स्टेट भनिने आइएस विद्रोही तथा अल कायदा विरुद्ध प्रतिआतंकवाद कारवाही जारी राखेका छन्।

बिहिबारको हमलालाई निन्दा गर्दै अफगान राष्ट्रपति अशरफ गनीले त्यसलाई मानवता विरुद्ध अपराधको संज्ञा दिएका छन्।