आर्थिक वृद्धिमा असर पर्ने ‌चेतावनी

  • 30 जुन 2016
तस्वीर कपीराइट AFP

अमेरिकी राष्ट्रपति बराक ओबामाले युरोपेली संघ इयुबाट अलग हुने ब्रिटेनको निर्णयले विश्व अर्थतन्त्रको वृद्धिमा दिर्घकालीन असर पर्ने चिन्ताहरु रहेको बताएका छन्।

क्यानेडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले इयुबाट बाहिरिएपछि ब्रिटेन र बाँकी युरोपमा आर्थिक वृद्धि र लगानीको अवसरमा क्षति पुग्न सक्ने टिप्पणी गरे।

ब्रिटेनका सूत्रहरुले इयुबाट बहिर्गमनसम्बन्धी वार्ताहरु सम्पन्न हुन पाँच वर्षसम्म लाग्न सक्ने जनाएका छन्।

जनमतसंग्रहको परिणामले विश्वव्यापी अर्थ बजार तथा युरोपको राजनीतिमा तंरग उत्पन्न गराएको छ।

सन्देश

क्यानेडा तथा मेक्सिकोका शीर्ष नेताहरुसँगको सम्मेलनका क्रममा ओटावामा बोल्दै राष्ट्रपति ओबामाले ब्रिटेनका प्रधानमन्त्री डेविड क्यामरन तथा अन्य युरोपेली नेताहरुलाई ब्रिटेनको इयु बहिर्गमन क्रमबद्ध ढंङ्गले अघि बढाउन आह्वान गरे।

उनले भने, “मेरो मुख्य सन्देश डेभिड क्यामरन ऐङ्गेला मर्केल र अन्य सबैलाई आरामले बसेर योजना बनाउनुस, क्रमबद्ध एवं पारदर्शी प्रक्रिया निर्धारण गरी मानिसहरुलाई त्यसबारे जानकारी दिनुस अनि सबैले अपनत्व महसुस गर्ने गरी अघि बढ्नुस भन्ने हो।”

ओबामाले इयुबाट अलग हुनुपर्ने अडान लिएका ब्रिटेनका नेताहरुले युरोपेली एकल बजारमा पहुँच हुने धारणा राखिरहेको तर त्यसका लागि कुनै दायित्व बोक्न भने तयार नरहेको टिप्पणी गरेका छन्।

तस्वीर कपीराइट AFP

यता ब्रिटेनका प्रधानमन्त्री डेविड क्यामरनका कार्यालयका सूत्रहरुले बीबीसीलाई भनेका छन् युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनसम्बन्धी वार्ताहरु सम्पन्न हुन पाँच वर्षसम्म लाग्न सक्छ।

उनीहरुले ब्रिटेन र इयुबीच चार दशक पुराना सम्झौताहरुलाई नयाँले प्रतिस्थापन गर्ने प्रकिया लामो हुने धारणा राखेका छन्।

ब्रिटेन सरकारले फ्रान्सले ती वार्ताहरु देशभित्र रहेका इयु विरोधी अभियानकर्ताहरुलाई युरोपेली संघबाट बाहिरिनुको कुनै भविष्य नरहेको सन्देश दिन निक्कै कठिन बनाउन सक्ने ठानेको छ।

चुनौती

यसैबीच राजीनामाको दवाव खेपिरहेका ब्रिटेनको विपक्षी दलका नेता जेरेमी कोर्विनलाई लेबर पार्टीको नेतृत्व सम्हाल्न सांसद एन्जेला इगलले चुनौती दिने बीबीसीले जानकारी पाएको छ।

बिहीबार यसको घोषणा हुने अपेक्षा गरिएको छ।

तस्वीर कपीराइट AP

एन्जेला इगल इयुमा आवद्धताबारेको जनमतसंग्रहपछि राजीनामा दिनुअघि छायाँ व्यापार मन्त्री थिइन्।

जनमत संग्रहको अभियान प्रभावकारी ढंगले सञ्चालन नगरको आरोपमा ल्याइएको अविश्वासको प्रस्तावप्रति अत्यधिक बहुमत लेबर सांसदहरुको समर्थन रहेपनि कोर्विनले राजीनामा दिन अनिच्छा देखाएका छन्।

उनका समर्थकहरुले कोर्विन देशका लेबर समर्थकहरुमाझ लोकप्रिय रहेको बताउने गरेका छन्।

बजार

तस्वीर कपीराइट AFP

ब्रिटेनले इयु छाड्ने निर्णय गरेपछि ओरालो लागेको विश्व सेयर बजारमा लगातार दोस्रो दिन सेयरका मूल्यहरु पहिले जस्तै सामान्य अवस्थामा फर्किएका छन्।

अमेरिकाको डाउ जोन्समा सेयरको मूल्य १ दशमलव ६ प्रतिशतले बढेको थियो भने दैनिक कारोबार बन्द हुने बेलामा लण्डनको सेयर परिसूचक अघिल्लो हप्ताको जनमतसंग्रहभन्दा थोरै माथिल्लो विन्दुमा पुगेको थियो।

ब्रिटेनको मुद्रा पाउन्ड अमेरिकी डलर र युरो मुद्रासँग तुलना गर्दा केही बलियो देखिएको छ।

तर विश्लेषकहरुले ब्रिटेन र इयुबिचको दिर्घकालीन व्यापारिक सम्बन्ध प्रष्ट नभएसम्म लगानीकर्ताहरु चिन्तामा परिरहने चेतावनी दिएका छन्।