अष्ट्रियामा राष्ट्रपतिय निर्वाचन पुन: गर्न आदेश

  • 1 जुलाई 2016
तस्वीर कपीराइट Getty

अष्ट्रियाको सबैभन्दा माथिल्लो अदालतले मे महिनामा भएको राष्ट्रपतिय निर्वाचन पुन: गर्न आदेश दिएको छ।

अष्ट्रियाको माथिल्लो अदालतले गत मे महिनामा भएको राष्ट्रपतिय निर्वाचनलाई खारेज गरिदिएको छ।

उक्त निर्वाचनको परिणाममा अति दक्षिणन्थी फ्रिडम पार्टीका उम्मेदवारले झिनो मतले हारेका थिए।

उक्त दलले मतगणनामा अनियमितता भएको भन्दै परिणाम विरुद्ध मुद्दा हालेको थियो।

जिकिर स्वीकार

फ्रिडम पार्टीका नेता नोर्बर्ट होफर, ग्रीन पार्टीका पूर्व नेता अलेक्जाण्डर भान डेर बेलेनसंग करीब ३० हजार चानचुन भोटले अर्थात एक प्रतिशतभन्दा कमले हारेका थिए।

उक्त निर्वाचन अब पुन: गराइनेछ।

उक्त फैसला सुनाउँदै संवैधानिक अदालतका प्रमुख गेर्हार्ड होल्जींगरले फ्रिडम पार्टीले प्रस्तुत गरेको जिकिर स्वीकार गरिएको बताए।

उनले फैसलाको उद्देश्य कसैलाई जय र कसैलाई पराजय दिलाउनु भन्दा कानुनी राज्य र प्रजातन्त्रमा विश्वास बलियो पार्नु रहेको बताए।

फैसलाको स्वागत गर्दै होफरले अदालतले कठिन निर्णय लिएको बताए।

दाबी

दुई साता लामो सुनुवाईका क्रममा फ्रिडम पार्टीका वकिलहरुले ११७ मध्ये ९४ जिल्लामा हुलाकबाट प्रेषित मतको गणना अवैधानिक ढंगले गरिएको जिकिर गरेका थिए।

हजारौं मतहरु निर्वाचन नियमविपरीत तोकिएको समय अगावै खोलिएको तथा केहीको गणना अनधिकृत व्यक्तिहरुले गरेको उनीहरुले उल्लेख गरेका थिए।

सो दलले केही १६ वर्ष भन्दा कम उमेरका अनि विदेशीले समेत भोट खसालेको आफुसंग प्रमाण भएको दावी गरेको थियो।

आफ्नो फैसलामा अदालतले नतीजा नै फरक पार्ने किसिमले निर्वाचन कानुनहरु तोडिएको उल्लेख गरेको छ।

तर मतगणनालाई जानाजान प्रभाव पारिएको प्रमाण नभएको फैसलामा जनाइएको छ।

समर्थक

निर्वाचन जितेमा होफर युरोपेली संघको देशको पहिलो निर्वाचित अति दक्षिणपन्थी राज्य प्रमुख हुनेछन्।

उनको दलले आप्रवास सम्बन्धी चिन्ता तथा कम सम्पन्न नागरिकहरुको गिर्दो जीवनस्तरलाई चुनावी मुद्दा बनाएको थियो।

हालै ब्रिटेनले इयु त्याग्ने पक्षमा जनमत संग्रहमार्फत निर्णय लिएपछि होफरले एक वर्षभित्र इयुले केन्द्रिकरण रोक्न तथा अन्य सुधार गर्न नसके आफुले पनि अष्ट्रियाले त्यस्तै जनमत संग्रह गर्नुपर्छ भन्ने ठानेको प्रतिक्रिया दिएका थिए।

उनका प्रतिद्वन्द्वी भान डेर बेलेन इयुको बलियो समर्थक हुन्।