विद्यालयमा अझै पुगेन सबै पाठ्यपुस्तक

  • 1 जुलाई 2016
तस्वीर कपीराइट bbc
Image caption वर्षामा पहाडि जिल्लाका बाटोहरु बिग्रने हुँदा पुस्तक पुर्याउन झन् ढिला हुने ठानिएको छ

सरकारले शैक्षिक सत्रको सुरुमै देशभरीका विद्यालयहरुमा पाठ्यपुस्तक पुर्याइसक्ने बताए पनि खासगरी विभिन्न पहाडि जिल्लाहरुमा असारको मध्यसम्म पनि सबै पाठ्यपुस्तकहरु पुग्न सकेको छैन।

पाठ्यपुस्तक पुर्याउने जिम्मेवार निकाय जनक शिक्षा सामग्री केन्द्रले भने आफूले क्षत्रिय कार्यालयहरुमा पुस्तक पुर्याइसकेकोले विक्रेता र विद्यालयको समन्वयको खाँचो रहेको दाबी गरेको छ।

गुनासो

वैशाखको मध्यसम्ममा विद्यालयहरुमा पुस्तक पुर्याइसक्ने भन्दै सरकारले राष्ट्रिय अभियान चलाएको थियो।

तर शैक्षिक सत्र सुरु भएको दुई महिनासम्ममा पनि देशका विभिन्न भागका विद्यालयहरुमा पूर्णरुपमा पाठ्यपुस्तक पुग्न सकेको छैन।

बझाङको लामातोला विद्यालयका शिक्षक जगतबहादुर थापाले आफ्नो विद्यालयमा कक्षा ६ का सबै र कक्षा ९ का ऐच्छिक विषयका पुस्तकहरु पुग्न नसकेको बताए।

उनले भने, "९ कक्षामा ऐच्छिक पाठ्यपुस्तक भएकोले शिक्षा विषयलाई ऐच्छिक राखेका छौं त्यो अहिलेसम्म काठमाडौंमा पनि पाइएन, धनगढीमा पनि पाइएन। धनगढीको क्षेत्रिय कार्यालय, जिल्ला शिक्षा कार्यालयमा पनि कराएका छौं।"

पुस्तक नपुग्नुको समस्या, बझाङको विद्यालयमा मात्रै नभइ देशका खासगरी पहाडी जिल्लाहरु बैतडी, बाजुरा, अछाम, संखुवासभा, पाँचथर, ताप्लेजुङलगायत जिल्लाको विकट गाउँका विद्यालयहरुमा रहेको शिक्षा विभागले जनाएको छ।

दाबी

तर पाठ्यपुस्तकको छपाइदेखि विक्रीवितरणको समेत जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले भने आफूहरुले क्षेत्रिय कार्यालयहरुमा समयमै पाठ्य पुस्तक पुर्याइसकेको दाबी गरेको छ।

जनक शिक्षा कार्यालयका प्रमुख अनिल कुमार झाले भने, "कहीँकतै कुनै ठाउँमा नपुगेको हो भने हेडसरले खोजि गर्नुपर्छ पस्तकको। कुन बिक्रेतामार्फत् उहाँले लिने हो त्यो विक्रेतालाइ उहाँले हामी कहाँ पठाइदिनुपर्छ उहाँलाई हामी स-सम्मान पाठ्यपुस्तक पुर्याइदिन्छौं।" विद्यालयमा पुस्तक पुगे नपुगेको अनुगमन गर्ने जिल्ला शिक्षा कार्यालयहरुले भने यो वर्ष अघिल्लो वर्षको तुलनामा समस्या कम देखिएको भए पनि केही विद्यालयहरुमा पुस्तक पुग्न अझै बाकिँ रहेको बताएका छन्।

अपेक्षा

यो वर्ष अब कहिलेसम्म पुस्तक पुगिसक्ला? बाजुराका प्रमुख जिल्ला शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले भने, "साउनको १५ गतेसम्मा वर्षे विदा छ त्यसैले साउनको २०/२२ सम्म शिक्षकहरुले वर्षे विदासकेर आउँदा ल्याउने गरि भनेर हामीले जिल्ला शिक्षा समितिको बैठकमा पनि छलफल गरेका थियौं। त्यतिबेलासम्म आउँछ होला।"

जनक शिक्षा सामग्री केन्द्र, जिल्ला शिक्षा कार्यालय, विक्रेता र विद्यालयले पाठ्यपुस्तक पुर्याउन आफूले कुनै कसर बाकिँ नरहेको बताइरहँदा विकट भेगका विद्यार्थीहरुले भने विगतका वर्षहरुमा जस्तै यसपटक पनि पुस्तक असारको मध्यसम्म पाउन सकेको देखिँदैन।