आन्दोलनको स्वरुपबारे गठबन्धनमा मतभेद

  • 1 जुलाई 2016

संघीय गठबन्धनको राजधानी केन्द्रित आन्दोलन प्रभावकारी नभएको भन्दै गठबन्धनकै एकजना वरिष्ठ नेताले त्यसबाट दबाब नपुग्ने बताएका छन्।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राजधानी केन्द्रित आन्दोलनमा जनजातिको उल्लेख्य सहभागिता हुन नसकेकोले रिले अनशन जस्ता कार्यक्रमले माग पूरा नहुने बताए।

तर गठबन्धनको नेतृत्व सम्हालिरहेका नेता उपेन्द्र यादवले जारी आन्दोलनविरुद्ध अभिव्यक्ति दिँदै हिँड्नु गैरजिम्मेवारपूर्ण भएको प्रतिक्रिया दिएका छन्।

हुन त जेठदेखि राजधानी केन्द्रित आन्दोलन शुरु भएयता गठबन्धनमा सामेल भएरपनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्बद्ध कतिपय नेताहरुले उत्साहपूर्ण सहभागिता जनाएको देखिंदैन।

असन्तुष्टि

राजधानीको खुलामञ्चमा २४ दिनदेखि जारी गठबन्धनको रिले अनशनमा मोर्चाका केही नेता एकपटक पनि नगएको बताइन्छ।

संविधानप्रति असन्तुष्टि जनाउँदै राजधानी केन्द्रित आन्दोलन गरिरहेको गठबन्धनले तेस्रो चरणको कार्यक्रम अन्तर्गत रिले अनशन गर्दै आएको हो।

जारी आन्दोलनको समीक्षा गर्न बिहीबार बसेको गठबन्धनको सचिवालय बैठकले हाल भइरहेको आन्दोलनका कार्यक्रमलाई नै असार मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको थियो।

तर सोही गठबन्धनमा रहेको मधेशी मोर्चा सम्बद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बीबीसीसँग कुरा गर्दै यस्तो आन्दोलनले अपेक्षित प्रभाव नपर्ने बताए।

उनले भने, “आन्दोलनको स्वरुपनै ग्रहण गर्न सकेन। प्रचारात्मक कार्यक्रममै सीमित रहेको छ। यो आन्दोलनले सरकारलाई दबाब परेको छैन र यस्तो कार्यक्रमले दबाब पर्दा पनि पर्दैन।”

गठबन्धनभित्र बाटै रिले अनशनमा सहभागी नभएको गुनासो खेपिरहेका महतोले तराईमा एउटा उचाईमा पुगेको आन्दोलनमा जनजातिहरुको उल्लेख्य सहभागिता हुने आशाका साथ राजधानी केन्द्रित गरिएपनि सोचे अनुरुप हुन नसकेको बताए।

हालको रिले अनशनबारे समीक्षा गरिनुपर्ने उनको तर्क छ।

उपलब्धिमूलक

उनले भने, “अनशन नै गर्ने हो भने नेताहरु आमरण अनसन बस्नुपर्यो अनि पो केही दबाब पर्थ्यो। अहिलेको अनशन अलि हल्काफुल्का जस्तो देखियो।”

तर आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजधानी केन्द्रित आन्दोलन उपलब्धिमूलक रहेको प्रतिक्रिया दिएका छन्।

नैतिक रुपमा आन्दोलनले विजय प्राप्त गरिरहेका बेला जिम्मेवार नेताले यस्तो अभिव्यक्ति दिनु गलत भएको उनले बताए।

उनले भने, “आन्दोलन गर्ने बेलामा गर्नुपर्छ भनेर लाग्ने तर जब आन्दोलन एउटा उचाईमा पुगेको छ त्यसको विरोध गर्ने अभिव्यक्ति दिनु दुःखद कुरा हो। कुनै समस्या छ भने बसेर छलफल गर्नुपर्यो।”

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामात्रै रहँदा सरकारसँग विभिन्न चरणमा वार्ता समेत भएका थिए।

तर संघीय गठबन्ध निर्माण गरेर आन्दोलन गरेयता एकपटक पनि वार्ता हुन सकेको छैन।