‘बहिर्गमनपछि मात्रै व्यापार वार्ता’

  • 1 जुलाई 2016
तस्वीर कपीराइट AFP

युरोपेली संघकी व्यापार आयुक्त ससिलिया म्यालमसट्रोमले बहिर्गमनपछि मात्र ब्रिटेनले इयुसँग नयाँ व्यापार सम्झौता बारे वार्ता थाल्न पाउने बताएकी छन्।

बीबीसीलाई दिएको अन्तरवार्तामा उनले इयुबाट बहिर्गमन पहिले र नयाँ सम्बन्धको स्थापनाका वार्ताहरु त्यसपछि हुने बताइन्।

उनले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर नभएसम्म ब्रिटेन र इयुबीच विश्व व्यापार संगठनका नियमको परिधिमा रहेर कारोबार हुने उल्लेख गरिन्।

त्यस्तो अवस्थामा ब्रिटेनका सेवा प्रदायक उद्योगहरुमा ठूलो नोक्सानी हुने चिन्ताहरु प्रकट भएका छन्।

व्यापार

बीबीसीको न्युन नाइट कार्यक्रमलाई दिएको अन्तरवार्तामा इयुकी व्यापार आयुक्त सेसिलिया म्यालमसट्रोमले भनेकी छन् सुरुमा इयुबाट अलगभएपछि मात्र वार्ता हुनसक्छ।

इयुबाट अलग हुने बित्तिकै ब्रिटेन तेश्रो किसिमको राष्ट्र हुने र नयाँ सम्झौता पूरा नभएसम्म विश्व व्यापार संगठनको अवधारणा अनुसार व्यापार हुने उनको भनाई छ।

यसअघि इयु र क्यानेडाबीच हालै सम्पन्न एउटा व्यापार सम्झौता गर्न ७ वर्ष वार्ता गर्नुपरेको थियो।

तस्वीर कपीराइट Getty

उक्त सम्झौता कार्यान्वयनका लागि इयुका सबै सदस्य राष्ट्रहरुले अनुमोदन गर्नुपर्ने व्यवस्था छ।

विश्व व्यापार संगठनको नियमले देशहरुले एकअर्काको फाइदाका लागि व्यापारमा भेदभाव गर्ने परिस्थितिहरुमा बन्देज लगाएको छ।

बाँकी विश्वलाई जस्तै उनीहरुले एकअर्कालाई करहरु तिर्नुपर्ने शर्तहरु उसको छ।

विश्व व्यापार संगठनहरुका नियममा रहेर व्यापार गर्दा ब्रिटेनका सेवामूलक उद्योगहरुलाई ठूलो क्षति हुने चिन्ताहरु व्यक्त भएका छन्।

जटिल

इयुकी व्यापार आयुक्त म्यालमसट्रोमका अनुसार बहिर्गमनका लागि पहिलो वार्ता र त्यो सकिएपछि नयाँ सम्बन्धका बारेमा ब्रिटेनसँग दोस्रो वार्ता गरिनेछ।

इयुको कानुन अनुसार उक्त संगठनले आफ्नै सदस्य राष्ट्रसँग अलग्गै व्यापार सम्झौता गर्न पाउँदैन।

इयुको सदस्य राष्ट्रले बाहिरी पक्षसँग आफ्नो व्यापारका शर्तहरु सम्बन्धी वार्ता समेत गर्न नपाउने युरोपेली कानुनमा उल्लेख छ।

त्यसको अर्थ इयुबाट बहिर्गमनका लागि दुई बर्षसम्म चल्ने भनिएको वार्ता अवधिभर ब्रिटेनले आफ्ना लागि व्यापार सम्झौता गर्न पाउने छैन् भन्ने लाग्न सक्छ।

इयुका अधिकारीहरुले अब ब्रिटेनसँग इयुका कानुनमा आधारित भइ नर्वे जस्तै गरी एकल बजारको अवधारणामा व्यापार गर्ने या क्यानेडाको जस्तो जटिल बाटो अंगाल्ने विकल्प रहेको उल्लेख गरेका छन्।

ब्रिटेनको अर्थ व्यवस्था इयुका कानुन र नियमको परिधिमा नै रहेकाले एकल बजारमा रहिरहने अवधारणा क्यानेडाले जस्तो व्यापार सम्झौता गर्नुभन्दा चाँडो हुनेमा उनीहरु सहमत छन्।

तर नर्वे जस्तो शैलीको सहमति कायम गर्न वर्षौ वार्ता गर्नुपर्ने हुनसक्छ र त्यतिञ्जेल विश्व व्यापार संगठनका शर्त अनुसार ब्रिटेनले कारोबार गर्नुपर्ने अवस्था समेत आउन सक्छ।