विद्यालय सुरक्षा मापदण्डबारे चिन्ता बढ्दो

  • 1 जुलाई 2016
Image caption पछिल्लो भूकम्पले ल्याएको विनाशले भवनहरु सुरक्षित बनाउनुपर्ने देखाए पनि विद्यालयहरुले त्यो पालना गरेको देखिँदैन

काठमाण्डू उपत्यकास्थिति एउटा स्कुलको पर्खाल भत्किँदा दुईजना छात्राको ज्यान गएको छ।

छेउको अग्लो जग्गामा लगाइएको पर्खाल स्कुलको पर्खालमाथि बज्रिँदा भएको दुर्घटनामा २० जना विद्यार्थी घाइते भएको गृहमन्त्रालयले जनाएको छ।

उक्त घटनापछि स्कुले बालबालिकाको सुरक्षा, भवनको मापदण्ड र सरकारी अनुगमनबारेको चिन्ता थपिदिएको छ।

शिक्षा विभागले भनेको छ, शुक्रबारको घट्नाले भाडाका भवनमा चलिरहेका स्कुल तीन वर्षभित्र आफ्नै भवनमा सार्नुपर्ने खाँचो झन् टड्कारो भएको छ।

जोखिमपूर्ण

खासगरी काठमाण्डू उपत्यकाका गल्ली गल्लीमा कतिपयका शब्दमा च्याउ झैं खुलेका स्कूल सुरक्षाका दृष्टिले जोखिमपूर्ण लाग्दछन्।

शुक्रबारको उक्त घटनाले स्कूले बालबालिकाको सुरक्षा र भवनको मापदण्डमाथि प्रश्न जन्माइदिएको छ।

शिक्षा विभागका महानिर्देशक खगराज बराल स्वंय सरकारी मापदण्ड पुरा नभएको स्वीकार गर्छन्।

"व्यक्तिको घरमा भाडामा लिएर बस्नुभएको छ र हामीले भने अनुकुलको पुर्वाधार पूरा गर्न सकेको धेरै स्कुलमा मैले देखिरहेको छैन। पठनपाठन गराउँदाखेरी समस्या चाहिँ आएको छ।"

वर्ष दिनअघिको भूकम्पको भोगाइले धेरैलाई सचेत बनाएको ठानिएको थियो।

निगरानी फितलो

भूकम्पको घाउँमा खाटा बस्दै जाँदा धेरैको स्मृतिबाट त्यसबारेको चिन्ता हराउँदै गएर सरकारी अनुगमन र निगरानी फितलो भएको हो कि?

अन्यथा स्कुल बन्द गराउन सक्ने कानुन हुँदा पनि किन कारवाही हुँदैन? महानिर्देशक खगराज बराल भन्छन्।

"विद्यालय बन्द गर्ने भनेको एउटा कठोर र अलि अप्रिय नै निर्णय हो। त्यसले गर्दा हामी सुधारात्मक विधि जान खोजेको हो। हामीले एकैचोटि अप्रिय निर्णय चाहिँ गर्न नखोजेकै हो।"

अधिकांश स्कुल भिन्न प्रयोजनको निम्ति बनाइएका घरमा भाडामा लिएर चलाइएका पाइन्छन्।

अधिकारीहरुका अनुभवनमा सबैभन्दा मापदण्डको खिल्ली उडाउने त्यस्तै स्कूलहरु हुन्।

चुनौति

तर महानिर्देशक बराल भन्छन् अब तीन वर्षभित्र आफ्नै भवनमा सार्नु पर्ने निर्देशिका लागु गराउन अनिवार्य भएको छ।

"तर हामीले भनेका छौं विद्यार्थीको सुरक्षा पहिलो हो यसमा हामी सम्झौता गर्न सक्दैनौं। किनभने आजको घटनाले पनि देखायो। भूकम्पीय जोखिममा त हामी छँदै छौं नि।"

भाडाको घरमा चलाउन पाउने कानुनी प्रावधानमा टेकेर स्कूल संचालकले उक्त निर्देशिकलाई चुनौति दिने गरेको सुनिन्छ।

तर पर्खाल ढलेर कक्षा कोठामा पढिरहेका विद्यार्थीले ज्यान गुमाएको घटनाले सुरक्षामा सम्झौता गर्न नहुने आवाजलाई बल पुर्याएको पाइन्छ।