बग्दाद आक्रमणमा १ सय २० बढीको मृत्यु

  • 3 जुलाई 2016
तस्वीर कपीराइट bbc

मुसलमानहरुको पवित्र महिना रमजानमा अर्को दिनको व्रत शुरु हुनुअघि मानिसहरु खानेकुरा किन्न भेला भएको बेला बग्दादको केन्द्रस्थित कार्राडा जिल्लामा भएको ठूलो विष्फोटमा १ सय २० भन्दा बढी मानिस मारिएका छन्।

उग्रवादी समूह इस्लामिक स्टेट भनिने आईएसले जिम्मा लिएको उक्त घटनामा १ सय ५० जना जति घाइते भएका छन्।

शिया मस्जिद नजिकै विष्फोटक पदार्थ भरिएको लरी मध्यरातपछि विष्फोट भएको बताइएको छ।

विष्फोटमा कैयौं पसल नष्ट भएका छन् भने कतिपय भवन त तलदेखि माथिसम्मै क्षतिग्रस्त भएका छन्।

इराकको राजधानी बग्दादबाट बीबीसीका संवाददाता अहमद माहेर भन्छन्, “विहानीसँगै रमजानको ब्रत शुरु गर्नुअघि खानाको निम्ति मानिसहरु जुस वार र क्याफेमा भेला भइरहेका बेला विष्फोट भएका थिए।”

सुन्नी मुसलमानको कट्टरपन्थी धार पछ्याउने उक्त जिहादी समूह आईएसले फल्लुजाह नगरलाई आफ्नो नियन्त्रणबाट गुमाएको केही दिनपछि यो घटना भएको छ।

आक्रोश

समाचार संस्था एपीका अनुसार बम विष्फोटका घटनामा मारिनेमा कैयौं बालबालिका छन्।

घटनापछि सर्वसाधारणमा आक्रोश देखिएको छ।

घटनास्थलमा इराकी प्रधानमन्त्री विरुद्ध गाली गलौजपूर्ण नाराबाजी भएको थियो।

बीबीसी संवाददाता माहेरका अनुसार, प्रधानमन्त्री हैदर अल अबादीको सुरक्षा लस्करमाथि, इटा र ढुंगाले आक्रमण गरियो।

मानिसहरुले आफ्नो आक्रोश अनलाईनमा पनि व्यक्त गरेका छन्।

ह्याकरहरुले गृहमन्त्रालयको वेवसाइटमा छिरेर एकजना मृतक बालकको फोटो पोष्ट गरिदिएका छन्।

गम्भीर

बग्दादका सुरक्षा समितिका प्रमुख मोहम्मद अल रुबईले त मृतकको संख्या १६७ पुगेको समाचार साइट अल-मादा प्रेसलाई बताएका छन्।

तर त्यसको औपचारिक रुपमा पुष्टि भइसकेको छैन।

उनले कयौं घाइतेको स्थिति चिन्ताजनक रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने औंल्याएका छन्।

इराकमा यो वर्ष भएका विष्फोटमध्ये यो सबभन्दा घातक हो।

बग्दादको उत्तरी भागमा भएको दोस्रो बम विष्फोटमा चार जनाको ज्यान गएको छ।

सन्देश

इराकको दोस्रो ठूलो शहर मोसुल सहित देशको उत्तर तथा पश्चिममा आईएसले अझै थुप्रै भागमा नियन्त्रण जमाएको छ।

तर पछिल्ला समय सरकारी फौज तथा अमेरिका समर्थित विद्रोहीले गरेको हमलाका कारण इराक तथा छिमेकी सिरियामा अवस्थित आईएस समूह दबाबमा परेको छ।

बीबीसीका मध्यपूर्व सम्पादक जेरेमी बोवेन भन्छन्, "विष्फोटस्थलमा भएको क्षति र मृत्युले आइएसको स्पष्ट सन्देश दिन खोजेको छ। जस अनुसार लडाईंमा हार बेहोर्नुपरे पनि इराकी राजधानीको केन्द्र तथा अन्य शहरमा थुप्रै गैरसैनिक मारिने गरी उनीहरु अझै आफ्ना जवाफी कारवाही गर्न सक्षम छन् भन्ने देखाउँछ।"