बाढी पहिरो पीडितको उद्दार गर्न सेनालाई आग्रह

  • 3 जुलाई 2016
तस्वीर कपीराइट Reuters
Image caption पाकिस्तानको चित्रल जिल्लामा बाढी आउँदा मस्जिद र सुरक्षा चौकी सहित घरहरु बगाएको छ

पाकिस्तानी र भारतीय सरकारले आफ्ना सेनालाई बाढी पहिरोबाट प्रभावितहरुको उद्दारमा सघाउन आग्रह गरेका छन्।

पाकिस्तान र भारतमा मुसलधारे मनसुनी वर्षाका कारण गएको पहिरो र आकस्मिक बाढीमा परी कम्तिमा ५५ जनाको ज्यान गएको छ।

पाकिस्तानको सुदुर उत्तरी क्षेत्र र भारतको पनि उत्तरी क्षेत्रमा बाढी र पहिरो आएको हो।

पाकिस्तानमा मस्जिद बगाउँदा प्रार्थना गरिरहेका महिला र केटाकेटी सहित सबै बगाएको बताइएको छ।

खराब मौसम

पाकिस्तानको चित्रल जिल्लामा आएको बाढीले घरहरु र मस्जिदमा क्षति पुर्याउँदा कम्तिमा तीसजनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्।

भारतको उत्तराखण्ड र अरुणाचल प्रदेशहरुमा आएको बाढी र पहिरोमा परी पच्चीस जनाको मृत्यु भएको जनाइएको छ।

दक्षिण एशियामा हरेक वर्ष मनसुनी वर्षाका कारण सयौं मानिसहरुको मृत्य हुने गरेको छ।

दुवै मुलुकमा खराब मौसमका कारण उद्दार प्रयत्नहरुमा अवरोध आएको छ।

तस्वीर कपीराइट AFP
Image caption मुसलधारे मनसुनी वर्षाले ल्याएको पहिरोले उत्तर भारतमा रहेको राष्ट्रिय राजमार्ग आंशिक रुपमा अवरुद्ध छ

बीबीसी संवाददाता क्याथरीन डेभीस भन्छिन्, "अधिकारीहरुका अनुसार स्थानीय मस्जिदमा विशेष रमाजान प्रार्थना गरिरहेका महिला र केटाकेटीसहित सबैजनालाई बाढीले बगायो। हेलिकोप्टरबाट उद्दार कार्य भइरहेको छ। भारतका टेलिभिजनहरुले प्रभावित क्षेत्रहरुमा हिलाम्य बाढी पसेको दृष्यहरु प्रसारण गरेका छन्।"

तनाव

विपत व्यवस्थापन प्राधिकरणका एकजना प्रवक्ताले पाकिस्तानको चित्रल क्षेत्रमा तनाव छाएको छ र सयौंले आफ्नो घर छोडिरहेको बताएका छन्।

दर्जनौं घरहरु र सेनाको चौकी पनि बाढीले बगाउँदा आठजना सुरक्षाकर्मीहरु हराइरहेका छन्।

चित्रल अफगानिस्तानको सीमा नजिकै पाकिस्तानको सुदुर उत्तरमा रहेको हिमाली क्षेत्र हो।

गत वर्ष पनि उक्त क्षेत्रमा आएको बाढीमा कैयौं मारिएका थिए र थुप्रै पुलहरु भत्किएका थिए।

उत्तर भारतमा अधिकारीहरुका अनुसार उत्तराखण्डमा बाढी र पहिरोमा परि १५ जनाको र अरुणाचलमा १० जनाको ज्यान गएको छ।

कैयौं गाउँहरु पहिरोले पुरिएका छन् र राष्ट्रिय राजमार्ग आंशिक रुपमा अवरुद्ध छ।