प्रबुद्ध समूह बैठक: सन्धि-सम्झौताबारे छलफल

  • 4 जुलाई 2016
तस्वीर कपीराइट PIB
Image caption ५ महिना अगाडी गठित प्रबुद्ध समूहको वैठकमा नेपाल र भारतका चार चार प्रतिनिधिहरु सहभागी छन्

सोमबारबाट शुरु हुन लागेको दुईदिने नेपाल र भारतको प्रबुद्ध समूहको वैठकमा सन् १९५० सन्धिलगायत सबैखाले सम्झौताबारे छलफल हुने बैठकमा सहभागी नेपाली प्रतिनिधिहरुले बताएका छन्।

दुबै देशबीचको दिर्घकालीन सम्बन्ध विकासका विषयमा छलफल हुने भनिएको उक्त वैठकको यो सुरुवातलाई कतिपयले दुई देशको हित हुने आशा गरेका छन्।

पहिलो वैठक भएकाले सोमबार प्रकृयागत विषयमा छलफल केन्द्रित हुनसक्ने ठानिएको छ।

सुझाव

निकै चर्चामा रहने गरेको सन् १९५० को सन्धि सहित नेपाल र भारतबीच भएका विभिन्न खाले पुराना सन्धि-सम्झौताहरुबारे वैठकमा छलफल हुने सहभागी अधिकारीहरुले बताएका छन्।

उक्त वैठकका एक नेपाली सदस्य निलाम्बर आचार्यले भने, "सन् १९५० लगायत सम्झौताहरुलाई हामी समिक्षा गर्छौं। हाम्रो सम्बन्ध जो अतित रहेको छ, ती सबैको सिंहावलोकन हुन्छ। हामी त्यसको समिक्षा गर्छौं। त्यसपछि जे निस्कर्ष निस्कन्छ, त्यसको सुझाब पनि दिन्छौं।"

दुई देशबीच देखिएका दुईपक्षीय समस्याहरुको समाधान खोजिने भनिएकोले निकै महत्वका साथ हेरिएको वैठकमा भारतीय पक्षले समस्याको रुपमा रहेका विषयहरुमा खुलेर कुरा गर्न आफूहरु तयार रहेको कुराहरु सार्वजनिक रुपमा बताइसकेका छन्।

गृहकार्य

नेपाली टोलीका सदस्य निलाम्बर आचार्यले तह तहमा छलफल हुने बताउँदै भने," पुराना हाम्रा स्थितिहरुलाई कसरी समीक्षा गर्न, अगाडिको सुझाब दिनलाई छलफलका के प्रकृया अपनाउने भन्ने विषय पनि छ। तीन तीन महिनामा हाम्रो वैठक हुने कुरा छ । त्यसैले अब अर्को वैठकका निम्ति पनि हामिले के के गृहकार्य गर्ने भन्ने विषय हुन्छ।"

पछिल्लो समय नेपाल र भारतको सम्वन्ध तनाबग्रस्त रहँदै आएका बेला हुन लागेको दुई देशका प्रबुद्ध समूहको वैठकले तनाव कम गर्न भुमिका खेल्ला की भन्ने चासो कतिपयमा देखिन्छ।