स्पेनी क्लबलाई लाखौं डलर फिर्ता गर्न आदेश

  • 4 जुलाई 2016
रियल मेड्रीका खेलाडीहरु तस्वीर कपीराइट EPA
Image caption रियल मेड्रीडलाई करीब दुई करोड डलर फिर्ता गर्न आदेश दिइएको छ

रियल मेड्रीड र बार्सेलोना सहित सात वटा प्रमुख स्पेनी फुटबल क्लबहरुलाई गैरकानूनी रुपमा सरकारी सहयोग दिइएको पाइएपछि दशौं लाख डलर फिर्ता गर्न आदेश दिइएको छ।

गैरकानूनी रुपमा सार्वजनिक कोषको दुरुपयोग भएको भन्नेबारे युरोपेली आयोगको तीन वर्ष लामो अनुसन्धानपछि पछिल्लो निर्णय भएको हो।

तीन वटा छुट्टा-छुटै इयु अनुसन्धानहरुले सात वटा स्पेनी फुटबल क्लबहरुले सार्वजनिक कोषबाट गैरकानूनी रुपमा सहयोग पाएको निश्कर्ष निकालेका छन्।

त्यस्तो सहयोगका कारण ती क्लबहरुलाई “प्रतिस्पर्द्धात्मक फाइदा” पुगेको बताइएको छ।

रियल मेड्रीड र बार्सेलोना विश्वका धनी मध्येका फुटबल क्लब हुन्।

आदेश

ती र अन्य दुई क्लबलाई अरु फुटबल क्लबहरुलाई भन्दा कम कर तिराएको पाइएको थियो।

अब ती क्लबहरुले नतिरिएको कर बापत पचास लाख युरो तिर्नु पर्ने भएको छ।

रियल मेड्रीडलाई चाँही करीब दुई करोड डलर फिर्ता गर्न आदेश दिइएको छ।

इयुकी प्रतिस्पर्धा सम्बन्धी आयुक्त मार्गरेठ भेस्टाएरले ती क्लबहरुले कर दाताको रकम आफ्नो फाइदाको लागि दुरुपयोग गरेको र “प्रतिस्पर्द्धात्मक फाइदा” लिएको बताइन्।

अर्को फरक अनुसन्धानपछि भने युरोपेली आयोगले पीएसभी इन्डोभेन र चार वटा अन्य डच फुटबल क्लबहरुले गलत ढंगले आर्थिक सहयोग पाएको भन्ने आरोप प्रमाणित नभएको बताएको छ।