मदिना विस्फोट: ४ सुरक्षाकर्मीको मृत्यु

  • 5 जुलाई 2016
तस्वीर कपीराइट Zillur Rehman

एकजना आत्मघाती बम हमलाकारीले साउदी अरेबियाको मदिनास्थित इस्लामधर्मावलम्बीहरुको पवित्र धार्मिक स्थलमा विस्फोट गराउँदा चारजना सुरक्षाकर्मीको ज्यान गएको र पाँचजना घाइते भएको त्यहाँका आन्तरिक मामिला मन्त्रीले बताएका छन्।

एउटा विज्ञप्तिमा भनिएको छ, ती हमलाकारीले पैगम्बरको मस्जिद बाहिर रोकिएर विस्फोटन गराएका थिए।

उक्त मस्जिद पैगम्बर मोहम्मदको समाधिस्थल हो र मदिना सहर मक्कापछिको अर्को पवित्र इस्लामिक सहर हो।

सोमबार नै साउदी अरेबियाका अन्य दुइ शहरमा पनि विस्फोट गराइएको थियो।

शंका

बीबीसीका मध्यपूर्व सम्पादक एलेन जोन्सटोनले भनेका छन्, उक्त घटना तथाकथित इस्लामिक स्टेट भन्ने समूहले गराएको हुनसक्ने शंका गरिएको छ।

अल अरेबिया समाचार संस्थाले घटनाबारे फरक विवरण दिएको छ।

बम हमलाकारीले रमजानको व्रत सुरक्षाकर्मीहरुसँग तोड्न खोजेको जस्तो गरेर ती हमलाकारीले उनीहरुलाई विस्फोटको निशानामा पारेको अल अरेबियाले बताएको छ।

मस्जिदमा रहेका दक्षिण अफ्रिकाका ३६ वर्षीय करी जियाद पटेलले समाचार संस्था एपीसँग कुरा गर्दै मानिसहरुले सुरुमा उक्त विस्फोटलाई व्रत तोड्ने संकेतको रुपमा तोप पड्काइएको ठानेको बताए।

जमिन हल्लिएको बताउँदै उनले विस्फोट निकै शक्तिशाली भएको र भवन नै ध्वस्त भएको जस्तो आवाज आएको उनले बताए।

अन्य घटना

यसअघि पूर्वी सहर कातिफमा कम्तीमा एउटा विस्फोट गराइएको थियो।

जहाँ थुप्रै अल्पसंख्यक शिया मुसलमानहरुको बसोबास छ।

शिया मस्जिदलाई लक्षित गरेर विस्फोट गराएको जस्तो देखिन्छ।

हमलाकारीको मृत्यू भएको छ तर अन्य हताहती भएको खबर छैन।

जेदाह सहरस्थित अमेरिकी वाणिज्य दूतावासको कार्यालय नजिकै सोमबार नै अर्को हमला भएको छ जहाँ शंका गरिएका आत्मघाती बम हमलाकारीको पनि विस्फोटमा मृत्यु भएको छ।

ती हमलाकारीसँग जुध्दा दुईजना सुरक्षाकर्मीहरु सामान्य घाइते भएका छन् अन्य कसैलाई केही भएको छैन।

अहिलेसम्म कसैले पनि उक्त हमलाको जिम्मेवारी दाबी गरेको छैन।