'इराक अतिक्रमण अन्तिम उपाय थिएन'

  • 6 जुलाई 2016
टोनी ब्लेयर तस्वीर कपीराइट Reuters
Image caption पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले आफ्नो निर्णयको बचाउ गरेका छन्

ब्रिटेनमा लामो समयदेखि प्रतीक्षा गरिएको एक आधिकारिक अनुसन्धानले १३ वर्ष अघि इराकी नेता सद्दाम हुसेनलाई निशस्त्र गर्ने सबै शान्तिपूर्ण उपायहरु अपनाउनु अघि नै ब्रिटेन युद्धमा गएको निष्कर्ष निकालेको छ।

लण्डनमा बुधबार बिहान प्रतिवेदन प्रस्तुत गर्दै आधिकारिक छानबीन समितिका अध्यक्ष सर जन चिलकटले ब्रिटिश जनता र सांसदहरुसमक्ष तत्कालिन सरकारले भने जस्तै युद्ध नै अन्तिम उपाय नभएको बताए।

उनले सन् २००३ मा अमेरिकी नेतृत्वमा शुरु गरिएको इराक युद्धमा सहभागी हुने तत्कालिन ब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयरको निर्णय अधुरो गुप्तचर सूचनाहरुमा आधारित रहेको र तिनलाई पर्याप्त चुनौती नदिइएको बताए।

ध्यान

उनले सो युद्धको इराक र त्यस क्षेत्रमै पर्न सक्ने असरप्रति टोनी ब्लेयरले खासै ध्यान नदिएको पनि बताए।

सन् २००३ देखि सन् २००९ को बीचमा इराकमा १७९ जना ब्रिटिश सैनिक तथा ब्रिटिश नागरिकहरुले ज्यान गुमाएका थिए।

सोही अवधिमा युद्धका कारण दशौं हजार इराकी नागरिकहरुको ज्यान गएको थियो।

इराक युद्धका विरोधीहरुले तत्कालिन ब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयर विरुद्ध युद्ध अपराधीको रुपमा मुद्दा चलाइनु पर्ने माग गरिरहेका छन्।

सात वर्ष लगाएर तयार पारिएको प्रतिवेदनको निष्कर्षका बारे ब्रिटेनमा निकै चासो रहेको छ।

इराक युद्ध

सन् २००३ को मार्चमा शुरु भएर झण्डै ६ साता चलेको युद्धले इराकी राष्ट्रपति सद्दाम हुसेनको २५ वर्ष लामो सत्ता अन्त्य गरीदिएको थियो। तर त्यसपछि चलेको साम्प्रदायिक हिंसामा दशौं हजारको ज्यान गैसकेको छ।

गत सातामात्रै इराक र सिरियाका विभिन्न भागमा कब्जा जमाएको कथित इस्लामिक स्टेट भन्ने संगठनले इराकी राजधानी बगदादमा गराएको आत्मघाती हमलामा अढाइ सय जना भन्दा बढीको ज्यान गएको थियो।

२६ लाख शब्दहरु रहेको प्रतिवेदनले इराक युद्धमा भाग लिने निर्णय गरेर तत्कालिन प्रधानमन्त्री टोनी ब्लेयर वा उनको सरकारका अन्य मन्त्रीहरुले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेका थिए वा थिएनन् भन्ने बारे चाहिं केही बोलेको छैन।

यद्यप‌ि प्रतिवेदनले तत्कालिन सैन्य कमाण्डरहरुको कडा आलोचना गरेको छ।

सर चिलकटले भने, “ब्रिटिश सैन्य कमाण्डरहरुले तिनका क्षमताहरुबारे बढाइचढाइ समीक्षा गरेका थिए, जसको आधारमा खराब निर्णयहरु लिइएको थियो।”

इराकी नेता सद्दाम हुसेनसंग आमविनाशकारी हातहतियारहरु रहेको र ती विश्व शान्तिका लागि खतरा रहेको भन्दै संयुक्त राज्य अमेरिका, ब्रिटेन लगायतका मुलुकहरुले संयुक्त राष्ट्र संघको निर्णय नपर्खिकनै इराकमाथि हमला गरेका थिए।

तर त्यसपछि गरिएका अनुसन्धानहरुले इराकसंग त्यस्ता कुनै अस्त्रहरु नरहेको देखाएका थिए।