दाइजो कम हुँदा ‘गर्भ तुहाइयो’

  • 6 जुलाई 2016

तराइमा कायम दाइजो संस्कृतिका कारण महिलामाथि हुने घरेलु हिंसाका घटनाहरु बढ्दै गएको पाइएको छ।

दाइजोलाई कानुनीरुपमा अपराध मानिए पनि समाजिक प्रतिष्ठामा आँच आउने डरका कारण प्रहरीमा न्यून संख्यामा उजुरी पर्ने गरेको अधिकारीहरु बताउँछन्।

दाइजोकै निहुँमा कतिपय घरमा दिनहुँजसो कलह हुने गरेको पनि देखिन्छ।

अधिकारकर्मीहरुले दाइजो निरुत्साहित गर्नका लागि सरकारी स्तरबाट सचेतना अभियान चलाइनुपर्नेमा जोड दिएका छन्।

संस्कृति

वीरगञ्जदेखि १४ किलोमिटर पश्चिममा पर्ने एउटा गाँउकी नाम परिवर्तन गरिएकी रामकली देवीको विवाह भएको तीन वर्ष भयो।

पढाइ रोकेर विवाह गरेकी रामकलीकी अहिले १० महिनाकी छोरी पनि छिन्। कमजोर आर्थिक अवस्था भएको उनको परिवारले विवाहमा जन्तीको खर्च बेहुलाको परिवारलाई एक लाख रुपैयाँ नगद एवं टिभी, साईकल र घडी दाईजोस्वरुप दिएको थियो।

तर पर्याप्त दाइजो नल्याएको भन्दै दैनिक घरेलु हिंसा खेप्नुपरेपछि माइतीमै बस्न थालेको रामकली बताउँछिन्।

“घरको अवस्था ठीक नभएपनि माइती पक्षले एक लाख रुपैँया नगद दिए। त्यस्तै टिभी, साईकल र घडी पनि दिए। मोटरसाइकलका लागि पहिला देखि नै मलाई दुःख दिइरहेका थिए तैपनि म त्यही बसिरहेको थिएँ।”

छोरीको विवाहमा लिएको ऋण तिर्नका लागि उनका बाबु डेढ वर्षदेखि मजदुरी गरिरहेका छन्।

तर उनले पठाएको रकमले ब्याजमात्रै तिर्न सकिएको उनकी आमा मनसिया देवी बताउँछिन्।

उनी भन्छिन्, “चामल, गहुँ, दाल, तेल, साबुन, लत्ताकपडा सबै पुर्याउँथ्यौँ। मोटरसाइकल नदिने जवाफ हामीले दिएपछि उनीहरुले झन् दुःख दिन थाले।”

तराईमा नराम्रोसँग जरा गाडेको दाइजो प्रथाबाट पीडित रामकली एक प्रतिनिधी पात्र मात्रै हुन्।

उजुरी

वीरगञ्जमा हालै सुनको औंठी नपाएकोमा बिवाह भाँडिएको र दाइजो स्वरुप दिने भनिएको जग्गा नपाउँदा बेहुलीको घरमा जन्ती नै नआएका घटना सार्वजनिक भएको थियो।

स्थानीय महिला अधिकारकर्मी बबिता जैसवाल भन्छिन्, “कुटपिट बाहेक जलाउने, हत्या गर्ने, मानसिक यातना दिने यस्ता पीडा महिलाले खेप्नुपरिरहेको छ।”

तराईमा दाईजोसम्बन्धी यस्ता खाले महिला हिंसाका घटनाहरु दिनहुँजसो भइरहेको महिला अधिकारकर्मी बताउँछन्।

कानुनले दाइजोलाई दण्डनीय बनाए पनि चेतनाको कमी र पुरातन संस्कारका कारण यस्ता घटनाहरु बढ्दै गएको राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीको भनाई छ।

उनले भनिन्, “आर्थिक सबलिकरण मुख्य बिषय हो, शिक्षा र सामाजिक दृष्टिकोण पनि मुख्य रुपमा जिम्मेवार छन्।”

प्रहरीका अनुसार दाइजोका कारण तराईमा महिलामाथि हुने गरेका हिंसाका घटनाबारे यकिन तथ्यांक छैन तर महिला हिंसासँग सम्बन्धित अधिकांश उजुरीको सम्बन्ध दाईजोसँग देखिने गरेको उनीहरु बताउँछन्।

सामाजिक प्रतिष्ठामा आँच आउने डरले दाइजोका खासै उजुरी नआउने गरेको नारायणी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिँह खड्का बताउँछन्।

उनी भन्छन्, “बेहुला पक्ष र बेहुली पक्षको समझदारी रहुनजेलसम्म यो कुरा बाहिर आउँदैन, विवाहबारी भइसकेपछि समझदारी अनुसार उहाँहरुको लेनदेन मिल्दैन अनि विवाद सुरु भएको देखिन्छ, बढी मात्रामा यातना पाइसकेपछि मात्रै अबेर गरी प्रहरीमा उजुरी आउँछ।”

यातना

दाइजो नल्याएको कारण वीरगञ्जकी रामकलीले विवाह भएको तीन वर्षमा ३ महिना पनि श्रीमानको घरमा राम्रोसँग बस्न पाएकी छैनन्।

अझ आफूमाथि हिंसा भएको उजुरी गत जेठमा प्रहरीमा दिएपछि परिवारबाट थप यातना पाएको उनी बताउँछिन्।

दाइजो कम भएकै कारण आफ्नो पेटमा रहेको बच्चा हत्या गरिएको उल्लेख गर्दै उनी भन्छिन्, “उनीहरुले बिहानै ६ बजे एउटा ‍औषधि खुवाइदिए। ६ महिनाको बच्चा पेटमा थियो। छोरा थियो, पेटमा हाने बच्चा मर्यो।”

दोस्रोपटक प्रहरीमा उजुरी दिएपछि अनेक धम्कीहरु आउन थालेको उनी बताउँछिन्।

रामकली जस्ता दाइजोपीडित महिलाहरुले न्यायको खोजी गरिरहँदा नयाँ संविधानले विभेद गरेको भन्दै तराईका कतिपय दलहरु पछिल्ला केही महिनायता आन्दोलनरत छन्।

तराईमा अधिकारका लागि आन्दोलन गरिरहेको बताउने उनीहरुले महिला हिंसा र दाईजो प्रथा निरुत्साहित गर्नका निम्ति खासै आवाज नउठाएको भन्दै कतिपयले आलोचना गर्ने गरेका छन्।