जोखिमपूर्ण बस्ती सार्न अलमल

  • 6 जुलाई 2016
तस्वीर कपीराइट Courtsey Anil Shrestha

लगातारको वर्षाका कारण दिनहुँ पहिरोबाट जनधनको क्षति भइरहेको खबरका माझ भूकम्प प्रभावित क्षेत्रका पहिरोको जोखिममा रहेका बस्ती अन्यत्र सार्ने योजनामा ठोस प्रगति नभएको देखिएको छ।

भूकम्प गए लगत्तै गरिएको अध्ययनका आधारमा सार्नका लागि सिफारिस गरिएका करिव ५ सय बस्ती मध्ये हालसम्म १ सय १७ वटाको मात्र पूर्ण अध्ययन गरिएको खानी तथा भूगर्भ विभागले जनाएको छ।

अध्ययनपछि सुरक्षित स्थानमा सार्नका लागि सिफारिस गरिएका स्थानका बारेमा ठोस योजना ल्याउन सहरी विकास मन्त्रालयलाई भनिएको पुनर्निर्माण प्राधिकरणले बताएको छ।

भूकम्प प्रभावित क्षेत्रमा पहिरोको जोखिम बढेको भन्दै अघिल्लो वर्ष नै जोखिममा रहेका बस्तीको पहिचान गरिएको थियो।

पहिचान

खानी तथा भूगर्भ विभाग, जिल्ला दैवी प्रकोप उद्धार समिति लगायतका निकायको सिफारिसमा अघिल्लो वर्ष ४ सय ७५ वटा बस्ती जोखिममा रहेको प्रतिवेदन तयार पारिएको थियो।‍

गठन लगत्तै उक्त प्रतिवेदन बुझेको पुनर्निर्माण प्राधिकरणले प्रतिवेदनमा उल्लेख गरिएका स्थानहरुको थप अध्ययन गरिनुपर्ने निर्णय गरेको थियो।

हालसम्म १ सय १७ स्थानको मात्रै थप अध्ययनको काम सकिएको बताइएको छ।

खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक सोमनाथ सापकोटा भन्छन्, "सबै क्षेत्रको अध्यनका लागि हामीले १५ दिन काम गर्ने गरि ४२ जना भूगर्भविद्हरु माग गरेका थियौँ तर त्यो पाउन सकेनौँ। अब फेरी भूगर्भविद्हरुलाई लिएर तालिम दिएर पठाउने तयारी गर्दैछौं।"

पुनर्निर्माण प्राधिकरणले जोखिममा रहेका भनिएका बस्तीहरुको अध्ययनमा ढिलाई भएको स्वीकार गर्दै त्यस्तो अध्ययनको योजना बनिसकेको बताएको छ।

योजना

पुनर्निर्माण प्राधिकरणका प्रवक्ता राम थपलियाले बस्ती सार्नेबारेमा सहरी विकास मन्त्रालय मार्फत योजना माग गरिएको बताए।

उनले भने, "बस्तीनै छोडेर अन्यत्र राख्नुपर्नेहरुलाई घरमात्र बनाएर अथवा घडेरीमात्रै दिएर हुने अवस्था छैन जीविकोपार्जन र जीवन निर्वाहका अरु कार्यक्रम पनि आवश्यक पर्छ, त्यसै अनुरुप तयारीको काम गरिरहेका छौं।"

बुधबारमात्र ३ जनाको ज्यान गएको गोरखाको केरौजा र लामो प्रयासपछि जोखिममा रहेका १९ जनाको उद्धार गरिएको धादिङको रि गाविसको वडा नम्बर ९ को विस्तृत अध्ययनपछि सार्नका लागि सिफारिसमा परेका बस्ती हुन्।

यस्ता विपद्का घटना भएपछि मात्रै सरकारले चासो देखाउने गरेको गुनासो जोखिममा रहेका भनिएका क्षेत्रका बासिन्दाको छ।