इराक: अमेरिकी आक्रमण यताकै खराब हिंसा

  • 6 जुलाई 2016
तस्वीर कपीराइट AP

आइतबार इराकको राजधानी बग्दादमा गराइएको आत्मघाती बम बिस्फोटनमा मारिनेको संख्या २ सय ५० पुगेको इराकी अधिकारीहरुले बताएका छन्।

इस्लामिक स्टेटले दाबी गरेको उक्त हमला सन् २००३ मा अमेरिकी नेतृत्वले गरेको आक्रमण यताको सबैभन्दा घातक हो।

रमजानको ब्रत तोड्न बजारमा मानिसहरुले सामान किनिरहेका बेला विस्फोटक पदार्थहरु बोकेको लरी करादा जिल्लामा विस्फोट भएको थियो।

उक्त अमेरिकी आक्रमणबारेको प्रतिवेदन ब्रिटेनले बुधवार प्रकाशित गर्न लागेको छ।

अपेक्षा

प्रतिवेदन लेखनमा संलग्न टोलीका अध्यक्ष जोन चिलकटले भने, "यो प्रतिवेदनले अझ सावधानीपूर्ण विश्लेषण र राजनीतिक मुल्यांकन बिना त्यो स्तरको सैन्य हस्तक्षेप भविष्यमा सम्भव नहुनेमा आश्वस्त तुल्याउनेछ।"

सन् २००३ मा अमेरिका र उसको गठबन्धनले गरेको आक्रमण, त्यसअघि र पछि भएका घटनाक्रमको जाँच गर्न सात वर्ष लागेको थियो।

यसअघि उक्त हमलामा परि १ सय ६५ जनाको ज्यान गएको अनुमान गरिएको थियो।

हमलापछि इराक सरकारले तीनदिन शोकको घोषणासमेत गरेको थियो।

बीबीसीका डेभिड ब्यामफर्डले भने, “हतास देखिएका स्थानीय बासिन्दाहरुले मैनबत्ती बालेर शोक व्यक्त गरेका छन् र शान्तिका लागि कामना गरेका छन्।”

घाइतेको उपचार

हमलामा परि थुप्रै मानिसहरु घाइते पनि भएका थिए।

तर त्यहाँका स्वास्थ्यमन्त्रीका अनुसार ती मध्ये धेरैजसो अहिले अस्पतालबाट उपचार गरेर फर्किसकेका छन्।

उनले थप विवरण नदिइ भनेका छन्, एकदमै घाइते भएकाहरुलाई उपचारको लागि विदेश पठाइएको छ।

शिया मुसलमानहरुको बाहुल्यता रहेको क्षेत्रमा मध्यरातपछि बम हमला भएको थियो जहाँ एकसाता अघि मात्रै इराकी फौजले तथाकथित इस्लामिक स्टेट समूहबाट फलुजा सहरलाई पनु आफ्नो नियन्त्रणमा लिएको थियो।

शक्तिशाली विस्फोटनले उक्त क्षेत्रलाई आगोको ज्वालामा परिणत गरेको थियो जसले गर्दा हमलाले पुर्याएको क्षतिको स्पष्ट विवरण आउन हुन केही दिन लाग्यो।

प्रधानमन्त्री हाइदर अल अबादी उक्त हमलापछि निकै आलोचित बनेका छन्।

उनी विस्फोट भएको क्षेत्रमा अवलोकन गर्न जाँदा केही आक्रोशित भीडले उनीविरुद्ध प्रदर्शन गरेका थिए।

मंगलबार आन्तरिक मामिलामन्त्री

ले आफ्नो राजीनामा बुझाएका छन् तर त्यो अझै स्वीकृत भएको छैन।