अमेरिकी प्रहरीको बल प्रयोगबारे अनुसन्धान

  • 7 जुलाई 2016
तस्वीर कपीराइट .

प्रहरी अधिकारीले फिलाण्डो क्यास्टिलको गाडी रोकेपछि उनलाई गोली हानिएको थियो।

विगतका ४८ घंटामा यो त्यस्तो प्रकृतिको दोस्रो घटना हो।

एउटा भिडियोमा एकजना क्रुद्ध प्रहरीले बन्दुक तेर्स्याउँदा पीडित व्यक्ति क्यास्टिल आफ्नो कारमा स्टेयरिङ नजिकै रगतपच्छे अवस्थामा देखिन्छन्।

गाडीमा क्यास्टिलको छेउमा बसेकी उनकी प्रेमिकाले उनलाई गोली हानिएको भिडीयो खिचेकी थिइन्।

एउटा बत्ती भत्केका कारण गाडी रोकिएको र प्रहरीले चालक अनुमतिपत्र मागेपछि त्यो निकाल्न लाग्दा क्यास्टिललाई गोली हानिएको उनकी प्रेमिमा ल्याभिश रेनोल्ड्सले बताइन्।

'गलत ठाउँमा अश्वेत'

प्रहरीले क्यास्टिलको मृत्युका बारेमा अनुसन्धान शुरु गरिएको र सम्बन्धित प्रहरी अधिकारीलाई छुट्टी दिइएको बताएको छ।

क्यास्टिलकी आमा भ्यालेरी क्यास्टिलले आफ्ना छोरा गलत ठाउँमा अश्वेत भएको र अफ्रिकी अमेरिकी मानिस विरुद्ध मौन युद्ध जारी रहेको सीएनएन समाचार संस्थालाई बताइन्।

क्यास्टिल एउटा मन्टेसरी विद्यालयमा क्याफेटेरियाका सुपरिवेक्षकका रुपमा १० वर्षदेखि काम गरिरहेका थिए।

उनी अश्वेत भएकाले उनलाई तुरुन्तै अपराधीका रुपमा हेरिएको उनका एकजना नातेदारले बताए।

विरोध

मिनेसोटा राज्यका गभर्नरको घरबाहिर घटनाको विरोध गर्नका लागि एउटा भीड जम्मा भएको छ।

यसै हप्ता मंगलबार अमेरिकाकै अर्को स्थान ब्याटन रुजमा आल्टन स्टर्लिङ नामका अर्का अश्वेत पुरुषलाई पनि प्रहरीले गोली हानेर मारेका थिए।

दुई रातदेखि सैयौं मानिसले स्टर्लिङको मृत्युको विरोध गरिरहेका छन् र सम्बन्धित प्रहरी अधिकारीलाई प्रशासनिक छुट्टीमा जान भनिएको छ।

अमेरिकामा प्रहरीको हातबाट अफ्रिकी अमेरिकीहरु मारिने लामो श्रृंखलाका यी घटना सबैभन्दा पछिल्ला हुन्।

ती घटनाका कारण प्राणघातक बल प्रयोगका बारेमा राष्ट्रिय बहस शुरु भएको छ।