उपत्यकाको शिक्षित समाजमै दाइजो

  • 7 जुलाई 2016
तस्वीर कपीराइट .

सामाजिक कुरीतिको रुपमा रहेको दाइजो प्रथाबारे खासगरी तराई क्षेत्रमा चर्चा हुने गरे पनि यो राजधानी काठमाडौंकै शिक्षित समुदायमा पनि उत्तिकै जरा गाडेर बसेको समाजशास्त्री र महिला अधिकारकर्मीहरु बताउँछन्।

पछिल्ला वर्षहरुमा खासगरी काठमाडौं उपत्यकाका मध्यम वर्ग शैक्षिक र आर्थिक रुपमा सबल बन्दै गए पनि उनीहरुमा दाइजो दिने चलनमा भने कमी नआएको बताइन्छ।

जानकारहरु भन्छन्, पहिला र अहिले दाइजो दिने सारमा होइन स्वरुपमा परिवर्तन आएको छ।

सामाजिक सोच

काठमाडौं निवासी २९ वर्षीया सुनिता धमला (नाम परिवर्तन) को केही वर्ष अघि विवाहको कुरा छिनिएपछि उनले केटासँग एउटा शर्त राखिन्, म आफैँ वकिल र समाजका विकृतिबारे कुरा उठाउने महिला, विवाह गर्दा दाइजो लिएर आउँदिन।

उनको यो अडानमा सही थाप्दै केटाले तत्काल जनाएको प्रतिक्रिया सम्झँदै सुनिता भन्छिन्, "उहाँले मेरो आमा महिला अधिकारकर्मी, बुवा पनि समाजमा कहलिएको व्यक्ति। हामीले त टोलछिमेकमा लाज पो हुन्छ त। त्यसैले हामी केही पनि लिँदैनौं। तिमी ढुक्क हौ भन्नुभएको थियो। म पनि खुशी भएँ।"

तर त्यो खुसि विवाह हुने बेलासम्म टिक्नसकेन। सुनिताका बुवा आमालाई लाग्यो सबै छरछिमेक र समाजले छोरी अन्माउँदा दाइजो दिन्छन्, आफूहरुले कसरी नदिनु?

तस्वीर कपीराइट .

विवाहको दुईदिन अघि आफूले केटाका आमाबुवासँग टेलिफोनमा गरेको संवाद सम्झँदै उनकी आमाले भनिन्, "ल अब आफ्नो छोरीलाई सुत्ने खाट र लुगा राख्ने दराज दिनुहुन्छ होला नि त भन्ने कुरा गरे अनि छोरीलाई चित्त नबुझ्दा पनि सामान दिएर पठायौं।"

विवाहको क्रममा सुनिताले आफैँ हार खाइन्, शिक्षाले समाजका कुरीति हटाउने ज्ञान दिए पनि समाजको सोच भने फराकिलो पार्न सकेको रहेनछ।

ब्यंग्य

केही वर्ष अघिसम्म छोरी अन्माउँदा, उनका लागि आफ्नो कोठामा प्रयोग गर्ने खाट दराज, सोफा टेबल लगायतका सामान दिने चलन भएपनि आजकाल त्यसको स्वरुपमा परिवर्तन आएको देखिन्छ।

अहिले सहरमा विवाह गर्दा कोठाको मात्रै नभइ भान्छामा प्रयोग हुने सामानदेखि केटा पक्षका सदस्य र आफन्तलाई लत्ताकपडा र सुनचाँदिले भेटघाट गर्ने सम्मका चलन थपिँदै गएर केटीपक्षलाई भार पर्ने गरेको सबैले महसुस गर्ने गरेका छन्।

केटापक्षका अभिभावकले आफैँ वा विवाहका लमीमार्फत अप्रत्यक्ष रुपमा दाइजो माग्ने गरेको धेरैको अनुभव छ।

फेरी सुनिताकी आमाले भनिन्, "इज्जत हेर्दिनुहोला भन्छन् त्यस अनुसारले दिनुपर्ने हुन्छ। कोठा भरि दिने, सके भान्छा भरिदिने अनि अझ बुवाआमादेखि दाजुभाइ दिदीबहिनी, ज्वाइबुहारी को को छन् उनीहरुका आफन्त झन् साह्रो छ अहिले त। हाम्रो पालोमा त्यस्तो केहि थिएन।"

पत्रकारिताको क्रममा मैले थुप्रै महिलाहरुको यस्तै भोगाइ देखेको छु परिवारभित्रको सम्बन्ध नबिग्रियोस् भन्नकै लागि सार्वजनिक रुपमा दाइजोको विरोधमा बोल्न चाहँदैनन्।

तस्वीर कपीराइट .

हालै दाइजोकै कारण उब्जिएको समस्याले निम्त्याएको भनिएको मनमुटावका कारण मेरी स्कुले साथीले १५ महिने काखे छोरी छोडेर आफ्नो ज्यानै लिइन्।

खाडल

शिक्षित समाजभित्र देखिने यस्ता घटनाहरुको उजुरी भने ग्रामीण भेगको तुलनामा नआउने गरेको अनुभव राष्ट्रय महिला आयोगकी सदस्यसमेत भइसकेकी मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीको छ। "दाइजो सम्बन्धी ग्रामीण भेगबाट उजुरी आउँछ। शहरिया परिवार जसले दाइजोको प्रताडना भोगिरहेका हुन्छन् उनीहरुबाट उजुरी आउँदैन। शहरको शिक्षित वर्गको जब सम्बन्ध एकदमै टुट्ने धारमा पुगिसकेको हुन्छ त्यसपछि उजुरी आउँछ। त्यो पनि कसरी आउँछ भन्दा बाहिर नआउने गरि।"

समाज शिक्षित हुँदै गए पनि दाइजो प्रथामा कमी नआउनु बरु यसको स्वरुप परिवर्तन हुनुलाइ समाजशास्त्री कसरी हेर्छन्?

एकजना समाजशास्त्री चैतन्य मिश्रले भने,"शिक्षित समाजले बास्तवमा बढायो भन्छु म। शिक्षित भनेको यो अर्थमा कि पुरुष शिक्षित भएर आम्दानी गर्ने सम्भावना बढ्ने तर महिला शिक्षित कम हुने र उनीहरुको आम्दानीको सम्भावना कम हुने। यसरी जब उनीहरुबीच जुन खाडल हुन्छ त्यसलाई दाइजोले खाडल पुर्ने तरिका हो। त्यो आधुनिकताले दाइजो बढाउँछ। बढाइरहन्छ।"

खासगरी शिक्षित समाजमा, दाइजोका कारण हुने हिंसाको अवस्था पछिल्ला वर्षहरुमा कस्तो छ भन्ने विषयमा ठोस अध्ययन भएको देखिँदैन।

तर जबसम्म विवाह गर्ने केटा र केटीले आफ्नो परिवारभित्र दाइजोको विरोध गर्नसक्दैनन् तबसम्म यस्ता समस्याहरुको न्युनिकरण गर्न कठिन हुने स्पष्टै छ।