शशांक कोइरालाको स्वास्थ्यमा 'थप सुधार'

  • 7 जुलाई 2016
तस्वीर कपीराइट .

गम्भीर बिरामी भएपछि मंगलबार रातीदेखि उपचाररत नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा बिहीबार "थप सुधार" भएको, तर पनि उनी अझै खतरामुक्त भइनसकेको उनको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

राजधानीको ओम अस्पतालमा कोइरालाको उपचारमा संलग्न डाक्टर लवनरसिंह जोशीका अनुसार स्वास्थ्य अवस्थामा सुधार भएपछि उनलाई कृत्रिम श्वासप्रश्वास प्रणाली, भेन्टिलेटर, बाट निकालिएको छ, तर पनि अक्सिजन दिइराखिएको छ।

डाक्टर जोशीले बीबीसीसित भने, “उहाँलाई तीन बजेपछि भेन्टिलेटरबाट निकालेका छौ, उहाँको होस आएको छ तर आगन्तुकहरुलाई जान दिएका छैनौं।”

“उहाँलाई अक्सिजन दिइरहेका छौं। तर उहाँको अवस्था अझै खतरामुक्त भन्न सकेका छैनौं। उहाँको अवस्थामा यसैगरी सुधार हुँदै जाला भन्ने हाम्रो आशा छ।”

‘एस्पिरेसनल निमोनिया’

डाक्टर जोशीका अनुसार ‘एस्पिरेसनल निमोनिया’अर्थात श्वासप्रश्वास सँग सम्बन्धित निमोनियाका कारण कोइरालाको फोक्सोमा संक्रमण भएको छ।

चिकित्सकहरु अझै केही दिन उपचार र निरीक्षणपछि उनको अवस्थाबारे यकीन रुपमा भन्न सकिने निष्कर्षमा पुगेको डाक्टर जोशीले बताए।

मंगलबार राती अचानक पेटमा अप्ठ्यारो महसुस भएपछि राजधानीस्थित ओम अस्पताल पु-याइएका कोइरालाको स्वास्थ्य अवस्था बुधबार बिहानदेखि नाजुक बनेको थियो।

त्यसपछि कोइरालाको उपचारमा ओम अस्पताल र राजधानीका अन्य प्रमुख अस्पतालका १५ जना वरिष्ठ चिकित्सकहरुको टोली निरन्तर खटिएको थियो।