‘तालिम र रोजगारी एकैसाथ’

  • 8 जुलाई 2016
तस्वीर कपीराइट .
Image caption भूकम्पपीडित २ लाख २३ हजार परिवारसँग अनुदान सम्झौता गरिसकिएको बताइएको छ

पुनर्निर्माणमा खटिने जनशक्ति तयार पार्न दिन लागिएको तालिममा सहभागी हुने ३० हजार सिकर्मी र डकर्मीलाई तालिम अवधीभर पनि पारिश्रमिक दिईने पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

स्थानीय युवायुवतीलाई नै प्राथमिकता दिने बताएको प्राधिकरणले तालिम अवधिको पनि पारिश्रमिक दिएर दक्ष सिकर्मी/डकर्मी तयार पार्ने योजना बनाएको उल्लेख गरेको छ।

तालिम व्यवस्थापनका लागि निर्देशिका बनाइसकेको प्राधिकरणले पहिलो चरणमा तालिम दिनका लागि आवश्यक पर्ने प्रशिक्षकहरु तयार पारिने जनाएको छ।

सरकारी अनुदान पाउने ५ लाख परिवारको पहिचान गरिसकेको प्राधिकरणका अनुसार २४ हजार परिवारको खातामा रकम जम्मा भइसकेको छ।

तालिम

तालिमका पाठयक्रम र पाठयसामाग्री सहरी विकास मन्त्रालयले तयार पारिसकेको र जिल्ला अनुकुल बनाउनका लागि समिति बनाएर काम गरिरहेको जनाएको छ।

यस्ता तालिममा सहभागीहरुलाई शिप सिकाउदै गर्दा पारिश्रमिकले पनि उपलब्ध गराउने योजना प्राधिरणको छ।

प्राधिकरणका प्रवक्ता राम थपलियाले भने "नागरिक वडा मञ्चले छनोट गरेका पिछडिएका, एकल महिला लगायतका परिवारको घर बनाएर सहभागीलाई तालिम दिने र त्यसबापत उनीहरुलाई पारिश्रमिक पनि उपलब्ध गराउने हाम्रो योजना छ।"

हाल जिल्लामा निर्धारण गरिने पारिश्रमिकले पनि युवायुवतीहरु आकर्षित नभएमा ज्यालाको दरलाई बढाउने सोच प्राधिकरणले बनाएको छ।

यस्तो तालिमका लागि सम्बन्धित जिल्लामा रहेका र पुनर्निर्माणपछि पनि आफ्नो शिपलाई व्यवसायिक रुपमा अपनाउन ईच्छुकहरुलाई प्राथामिकता दिइने बताइएको छ।

प्रतिरोधी

भत्किएका घरको पुनर्निर्माण गर्दा भूकम्प प्रतिरोधी बनाउनुपर्ने अनिवार्य नियम बनाएको प्राधिकरणले साउन महिना लागे लगतै तालिम दिने काम अघि बढने जनाएको छ।

प्रवक्ता थपलियाले भने, "जिल्लागत आवश्यक्ता पुरा गर्ने गरि तालिममा सहभागी हुनेहरुलाई पूर्ण रुपमा दक्ष नै बनाउने योजना छ।"

विभिन्न दातृ निकायहरुले सञ्चालन गर्ने तालिमहरुलाई समेत समायोजन गरि एकीकृत रुपमा तालिमहरु सञ्चालन गर्ने प्राधिकरणको योजनामा छ।

हालसम्म घर पुनर्निर्माणका लागि अनुदान पाउने ५ लाख ३३ हजार परिवारको पहिचान भइसकेको छ।

सम्झौता भएका मध्ये २४ हजार परिवारको खातामा पहिलो किस्ताको रकम पनि जम्मा भइसकेको प्राधिकरणले जनाएको छ।