'हमलाकारीको घरमा बम बनाउने सामाग्री’

  • 9 जुलाई 2016
तस्वीर कपीराइट Getty

अमेरिकी अधिकारीहरुले भनेका छन्, ड्यालसमा पाँचजना प्रहरी मारिने र ७ जना घाइते हुने गरी भएको आक्रमण एकजना मात्र बन्दुकधारीले गराएको जस्तो देखिन्छ।

उक्त हमलाकारीको नाम माइका जनसन भएको र उनले विगतमा अमेरिकी सेनामा काम गरेको बताइएको छ।

उसलाई घेराबन्दी गरि लुकिरहेको स्थानमा एउटा रोबोटबाट बम खसाएर हत्या गरिएको थियो।

उक्त घटनापछि मारिएका पाँच प्रहरी अधिकारीहरु प्रति सम्मान व्यक्त गर्न राष्ट्रपति बराक ओबामाले सार्वजनिक भवनहरुमा आधा झण्डा झुकाउन आदेश दिएका छन्।

निशानेवाज

ड्यालसका अधिकारीहरुले भनेका छन्, बिहीबार सडकमा भइरहेका प्रदर्शनको क्रममा पाँचजना प्रहरीको हत्यामा संलग्न भएको आशंका गरिएको निशानेवाज माइका जनसन एक्लैले उक्त हमला गरेका थिए।

तस्वीर कपीराइट AP

उनले अमेरिकी सेनामा सिपाहीका रुपमा काम गरेका र एकपटक अफगानिस्तानको भ्रमण गरिसकेको विवरणहरुमा जनाइएको छ।

तर बिहीबार अबेर राति ड्यालसका चोकहरुमा उनले बन्दुक चलाएर ५ प्रहरीको ज्यान लिएको र ७ जनालाई घाइते बनाएको अधिकारीहरु बताउँछन्।

उनीहरु भन्छन्, उनले एउटा घरको छतमा बसेर निशानेवाजले जस्तै गरी हमला गरेको थियो।

त्यसपछि उक्त २५ वर्षे व्यक्तिले एउटा ग्यारेज लुकेर घण्टौँसम्म प्रहरीमाथि गोली चलाएको बताइएको छ।

एकजना वार्ताकारलाई उसले हालै प्रहरीले मिनेसोटा र लुइजियानामा दुई अश्वेत व्यक्तिहरुको हत्या गरेकोमा आफूलाई रिस उठेको र आफूले श्वेत जातिका मानिसहरु विशेष गरी प्रहरीहरुलाई मार्न चाहेको बताएको थियो।

अन्तत: अधिकारीहरुले एउटा रोबोट पठाएर लुकिरहेको स्थानमा बम खसाएका थिए र उक्त बिस्फोटनमा हमलाकारीको मृत्यु भएको थियो।

ड्यालसमा भएको पछिल्लो रक्तपातपछि अमेरिकी नेताहरुले मानिसहरुलाई धैर्य धारण गर्न भनिरहेका छन्।