जातीय विभाजन आएको छैन: ओबामा

  • 10 जुलाई 2016
तस्वीर कपीराइट AFP
Image caption दुईजना अफ्रिकी अमेरिकीको गत साता प्रहरीद्वारा हत्या भएपछि राष्ट्रव्यापी रुपमा प्रदर्शनहरु भइरहेका छन्

अमेरिकी राष्ट्रपति बराक ओबामाले, हालै अफ्रिकी अमेरिकी र प्रहरीबीच भएको गोलीहानाहानका घटनापछि, केही व्यक्तिले भने जस्तो अमेरिकामा जातीय विभाजन देखिएको भन्ने विषय अस्वीकार गरेका छन्।

उनले ती दुइ जाति बीचको सम्बन्ध सन् १९६० को दशककै अवस्थामा फर्किएको कुरा सत्य नभएको बताए।

अज्ञात व्यक्तिबाट आएको टेलिफोन धम्कीपछि ड्यालसको प्रहरी मुख्यालयमा बढाइएको सुरक्षा सतर्कता छानबिनपछि सामान्य अवस्थामा फर्किएको छ।

यसअघि त्यहाँका सडकहरुलाई घेराबन्दी गरिएको थियो र एउटा ग्यारेजमा खानतलासी गरिएको थियो।

प्रदर्शन

गतसाता दुई अमेरिकी राज्य मिनसोटा र लुजियानामा दुइजना अफ्रिकी अमेरिकीको प्रहरीले गोली हानी हत्या गरेपछि अमेरिका भर त्यसको विरोधमा प्रदर्शनहरु भइरहेका छन्।

त्यसक्रममा बिहीबार ड्यालसमा भएको प्रदर्शनका क्रममा एकजना अश्वेत नागरिक माइका जनसनले गोली हानी पाँचजना श्वेत प्रहरीको हत्या गरेका थिए।

उनले केही दिनअघि श्वेत प्रहरीले दुईजना अफ्रिकी अमेरिकी नागरिकको हत्या गरेपछि क्रोधित भएर आफूले प्रहरीहरुको हत्या गरेको बताएका थिए।

पोल्याण्ड पुगेका राष्ट्रपति ओबामाले नेटो सम्मेलनमा बोल्दै भने, "म दृढ रुपमा विश्वस्त छु कि केही मानिसले भनेजस्तो अमेरिका विभाजित भएको छैन। ड्यालसमा वा अन्य जहाँ भएपनि प्रहरीमाथि भएको अक्षम्य आक्रमणको विरुद्ध सबै जाति र पृष्ठभूमिका अमेरिकीहरु स्वाभाविक रुपमा आक्रोशित भएका छन्।"

स्थानीय सञ्चारमाध्यमका अनुसार अज्ञात धम्कीपछि ड्यालस प्रहरीको मुख्यालयमा विशेष सुरक्षा दस्ता परिचालन गरिएको थियो।

एउटा विज्ञप्तीमा ड्यालसको प्रहरी विभागले, सहरभरका कानुन कार्यन्वयन निकाय विरुद्ध अज्ञात धम्की आएको र त्यस कारण सावधानीका उपायहरु अपनाउन सुरक्षा व्यवस्था उच्च पारिएको बताएको थियो।