‘प्रधानमन्त्रीले राजीनामा हैन, अविश्वासको सामना गर्ने’

  • 12 जुलाई 2016
प्रमं ओली
Image caption प्रधानमन्त्री ओलीले अन्य सत्तासाझेदार दलसँग बैठक गरेका थिए

विघटनको डिलमा उभिएको सरकारका एकजना वरिष्ठ सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिई अविश्वास प्रस्ताव आए त्यसको सामना गर्ने बताएका छन्।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रले सरकार अल्पमतमा परेको भन्दै प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेको थियो।

विकसित घटनाक्रमपछि प्रधानमन्त्रीले अन्य सत्तासाझेदार दलसँग बैठक गरेका थिए।

बैठकपछि उपप्रधानमन्त्री सीपी मैनालीले भने, “अन्तिम निर्णय लिने प्रधानमन्त्रीले नै हो, तर हामीहरुको सुझाव र विकसित परिस्थिति हेर्दा उहाँ राजीनामा पनि नदिने, विश्वासको मत पनि नलिने तर अविश्वास प्रस्ताव आएमा त्यसको सामना गर्ने मनस्थितिमा हुनुहुन्छ।”

जोखिम

छिट्छिटो सरकार फेरिने लामो परम्परालाई निरन्तरता दिने गरी आफु सामेल सरकार विस्थापित गर्न कम्मर कसेको माओवादी केन्द्रले प्रधानमन्त्री ओलीमाथि वैशाख २३ गतेको लिखित सहमति पालना नगरेको आरोप लगाएको छ।

उक्त दलकी प्रवक्ता पम्फा भुसालका अनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा भनिएको छ, “सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौं, साथै हाम्रा पार्टीका सबै मन्त्रीलाई मन्त्रिपरिषदबाट फिर्ता बोलाइएको जानकारी गराउँदछौं।”

तर माओवादी केन्द्रको निर्णय देशको निम्ति दूर्भाग्यपूर्ण भएको एमालेको टिप्पणी छ।

एमाले स्थायी कमिटीको बैठकले ‘राजनीतिक अस्थिरता उत्पन्न भई संविधान कार्यान्वयनमा गंभीर प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको’ ठहर गरेको छ।

एमालेले सरकारले लिने कदमबारे प्रष्ट नखुलाएर ‘नयाँ उत्पन्न राजनीतिक समस्याको संविधानसम्मत समाधानको दिशामा दृढतापूर्वक अगाडि बढ्ने’ निर्णय गरेको छ।

नयाँ गठबन्धन

पार्टीको निर्णय सुनाउन मंगलबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महराले अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउन कांग्रेसको लिखित समर्थन पाएको बताए।

उनले भने, “कांग्रेसकोतर्फबाट पहिलो चरणमा अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको रुपमा स्वीकार गरेको र समर्थन गरेको पत्र हामीले पाएका छौं।”

दुई वर्षभित्रै स्थानीय, प्रादेशिक र केन्द्रीय संसदको चुनाव गराउनु पर्ने छ।

नयाँ बनाइने भनिएको सरकारको आयुबारेको जिज्ञासामा उनले ‘तीनमध्ये कुनै न कुनै चुनाव प्रचण्ड नेतृत्वको सरकारले गराउने’ बताएर दुई वर्षभित्र कांग्रेस नेतृत्वको अर्को सरकार बनाउने योजनाको छनक दिए।

माओवादी केन्द्रले अझै पनि सहमतीय सरकारको पक्षमा रहेको बताइरहेका बेला ‘तीनवटा मध्ये कुनै चुनाव गराउने अवसर ओलीले पाउलान?’ भन्ने बीबीसीको प्रश्नमा महराले ‘बुधवार थाहा हुने’ बताएर त्यस्तो सम्भावना कमजोर रहेको संकेत दिए।