चीनद्वारा ट्राइब्युनलको फैसलाको आलोचना

  • 12 जुलाई 2016

दक्षिण चीन सागरका अधिकांश स्रोतमाथिको चिनियाँ दावीको कुनै कानुनी हैसियत नभएको भन्ने एक अन्तर्राष्ट्रिय ट्राइब्युनलको फैसलाप्रति चीनले अवज्ञापूर्ण प्रतिक्रिया जनाएको छ।

फिलिपिन्स र अमेरिकाले सो फैसलाको स्वागत गरेका छन्, तर चीनले आफ्नो सेनाले ती जलक्षेत्रको प्रतिरक्षा गरिरहने बताएको छ।

चिनियाँ विदेश मन्त्री वाङ यीले हेगमा गरिएको सुनुवाइको प्रक्रिया नाटक जस्तै भएको बताए।

सो मुद्दालाई अघि सारेको फिलिपिन्सले ट्राइब्युनलको फैसलाको स्वागत गरेको छ।

अमेरिकाले चाहिं पछिल्लो फैसलाले जलक्षेत्रको विवाद हल गर्न मद्दत पुर्याउने बताएको छ।

दावी

स्रोतहरुमा निकै धनी रहेको दक्षिण चीन सागर क्षेत्रमा कैयौं देशहरुले आफ्नो हक दावी गर्दै आएका छन्।

विभिन्न देशहरुले दावी गर्दै आएका दक्षिण चीन सागरका विवादित जल क्षेत्रहरुमा अमेरिकाले आफ्ना युध्दपोत परिचालन गरेर गस्ती गर्दै आएको छ।

हेग स्थित पर्मानेन्ट कोर्ट अफ आर्बीट्रेसनले बेइजिङले दक्षिण चीन सागरमा आफ्नो प्रभुत्व जमाउन चाहेको भन्दै उसका कदमहरुको आलोचना गरेको छ।

सो अदालतले फिलिपिन्सले आफ्नो आर्थिक क्षेत्रमा माछा मार्ने र तेल खानीको खोजी गर्ने कार्यमाथि चीनले हस्तक्षेप गर्न खोजेको र त्यहाँको जलक्षेत्रको पर्यावरणमा हानि पुर्याएको बताएको छ।

तर चीनले सो अदालतको निर्णयलाई स्वीकार नगर्ने बताएको छ।

प्रतिक्रिया

तर उसले सो फैसला वाध्यकारी नहुने भनेको छ।

फैसला हुनु केही समय अघि चीनको रक्षा मन्त्रालयले आफ्नो देशले दक्षिण चिनियाँ सागर क्षेत्रमा आफ्नो अधिकारको रक्षा गर्ने बताएको थियो।

अन्य केही देशले पनि दक्षिण चीन सागरका केही हिस्सामाथि दावी गर्दै आएका छन्।

दक्षिण चिनियाँ सागरमा माछा पर्याप्त पाइन्छ र मुनितिर ठूलो परिमाणमा तेल र प्राकृतिक ग्यासको भण्डार रहेको विश्वास गरिन्छ।