ब्रिटेनलाई थप समृद्ध बनाउने वाचा

  • 12 जुलाई 2016
तस्वीर कपीराइट

कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएपछि प्रधानमन्त्री बन्न लागेकी टरिजा मेले युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनलाई सफल बनाउने वाचा गरेकी छन्।

अघिल्लो महिना जनमत संग्रहमामा ब्रिटेन इयुमा रहनुपर्ने पक्षमा गृहमन्त्री मे उभिएकी थिइन्।

आफ्ना एकमात्र प्रतिद्वन्द्वी चुनावी दौडबाट सोमबार अलग भएपछि प्रतिक्रिया दिंदै उनले प्रधानमन्त्री डेविड क्यामरनको उत्तराधिकारी बन्न पाउनु गर्वको विषय भएको बताइन्।

इयुबाट बहिर्गमन सम्झौता गर्दा ब्रिटनले सकेसम्म बढी लाभ लिनुपर्नेमा जोड दिंदै नेतृ मेले कठिन आर्थिक र राजनीतिक चुनौतीलाई पार लगाउन दह्रो नेतृत्व दिने बताएकी छन्।

नाटकीय

कन्जरभेटिभ पार्टीको दुई दिने नेतृत्व छनौट प्रतिस्पर्धाबाट एन्ड्रिया लेड्सम अनपेक्षित रुपमा अलग भएपछि नाटकीय रुपमा राजनीतिक घटनाक्रम बिकास भएको थियो।

उनले आफूसँग बलियो र स्थिर सरकार बनाउन आवश्यक समर्थन नरहेको बताएकी थिइन्।

उक्त निर्णयसँगै गृहमन्त्री मे पार्टी नेतामा निर्विरोध छनौट भएकी छन् र सँगै भावी प्रधानमन्त्रीमा छानिएकी छन्।

दर्जनौं कन्जरभेटिभ सांसदहरुलाई सम्बोधन गर्दै उनले वर्तमान प्रधानमन्त्री क्यामरनले टोरी पार्टी र देशलाई दिएको नेतृत्वको प्रशंसा गरिन्।

उनले नेतृत्व दाबी फिर्ता लिएकी लेड्समलाई सम्मानको राजनीति गरेकोमा धन्यवाद दिइन्।

स्वतन्त्रता

तस्वीर कपीराइट PA

इयुबाट बाहिरिने निर्णयलाई सफलतापूर्वक कार्यान्वयन गर्ने धारणा राखेकी मेले ब्रिटेनको सकारात्मक भविष्यमा जोड दिंदै भनिन्, “हामी मानिसहरुलाई आफ्नो जीवनबारे बढी स्वतन्त्रता दिनेछौँ र त्यसअनुसार मिलेर हामीले बलियो ब्रिटेन निर्माण गर्नेछौँ।”

ब्रिटेनले इयुबाट बाहिरिने निर्णय गरेपछि पद छाड्ने घोषणा गरेका प्रधानमन्त्री क्यामरनले महारानीसमक्ष बुधवार राजीनामा दिंदैछन्।

मे आफ्नो उत्ताराधिकारी बन्न लागेकोमा प्रशन्न भएको प्रतिक्रिया दिएका क्यामरनले मंगलबार अन्तिम मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बीबीसीका प्रमुख राजनीतिक संवाददाता भिक्की योङ भन्छिन, नेतृत्व दाबीसहित अभियान थालेको केही घण्टाभित्रै गृहमन्त्री मेले बुधवारबाट आफू नयाँ प्रधानमन्त्री बन्न लागेको जानकारी पाएकी छन्।

अब उनले आफ्नो मन्त्रिपरिषद्का सदस्यहरुको चयन गर्नुपर्नेछ।